काठमडाैं ।
प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्न दुई दिन मात्रै बाँकी छ ।
प्रतिनिधिसभा चुनावको कार्यतालिका अनुसार मङ्गलवार प्रत्यक्षतर्फको उम्मेदवारहरूको मनोनयन हुँदैछ । मनोनयन दर्ताको समय नजिकिएसँगै दलहरुको सक्रियता पनि बढेको छ ।
चुनावकै मुखमा विभाजन खेप्नुपरेको नेपाली कांग्रेसले उम्मेदवार छनौट गर्न सूचीलाई छोट्याउने काम गरिरहेको जनाएको छ । विशेष महाधिवेशनबाट आएको नयाँ कार्यसमितिले यसअघि नै सिफारिस भइसकेका नामबाट उम्मेदवार छान्ने तयारी गरेको जनाएको छ ।
दोस्रो ठूलो दल नेकपा एमालेले हिजो बसेको सचिवालय बैठकबाट १ सय ६५ मध्ये १ सय ४१ निर्वाचन क्षेत्रमा उमेदवार छनोट गरेको छ । बाँकीमा छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । नेपाली कम्यूनिष्ट पार्टी (नेकपा)ले २१ निर्वाचन क्षेत्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ८ निर्वाचन क्षेत्रमा उम्मेदवार निश्चित गरेका छन् ।
पर्सि उम्मेदवार मनोनयन गर्ने दिन भएकाले दलहरुले भोलिसम्ममा उम्मेदवार छनौट गरिसक्नेछन् । उम्मेदवार छनौटसँगै वातावरण थप चुनावमय हुनेछ । निर्वाचन आयोगले पनि चुनावको तयारीलाई तीब्र बनाएको छ । ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
आयोगले आज समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गर्नेछ । जसमा उम्मेदवार कानूनी रूपमा अयोग्य रहेको भएमा दाबी विरोध दिन सकिनेछ । समानुपातिकतर्फको अन्तिम सूची भने आउँदो २० गते सार्वजनिक गर्ने कार्यतालिका छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तयारीका हिसाबले चुनावको काम ९० प्रतिशत सकिएको बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्