काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्याप्त उर्जा बिना विकास सम्भव नरहेको बताउनुभएको छ ।
काठमाडाैंमा आइतबार २६ औं इप्पान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उर्जा आत्मनिर्भरता नेपालको आर्थिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको बताउनुभयो । उहाँले उर्जा क्षेत्रलाई सबल बनाउनु सबैको साझा जिम्मेवारी भएको बताउनुभएकाे छ। पर्याप्त र सस्तो उर्जा उपलब्ध भए उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रहरुमा तीब्र विकास सम्भव रहेको बताउनुभयो । उहाँले पर्याप्त र सस्तो उर्जाले रोजगारी सिर्जना, आर्थिक समृद्धि, सुनिश्चित गर्दै मुलुकलाई समुन्नत विकासतर्फ अघि बढाउने बताउनुभएकाे छ।
उहाँले ग्रामीण तथा दुर्गम क्षेत्रमा उर्जा विस्तार गर्नु भनेको सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्नु रहेको बताउनुभयो । उपराष्ट्रपति यादवले नेपालले नविकरणीय उर्जामा लगानी बढाएर क्षेत्रीय उर्जा व्यापारमा अग्रणी भुमिका खेल्नसक्ने र भारत, बंगलादेश लगायतका छिमेकी मुलुकहरुलाई उर्जा निर्यात गरेर नेपालले आर्थिक लाभ मात्र नभइ कुटनीतिक सम्बन्ध पनि सफल बनाउने दावी गर्नुभएकाे छ।
उपराष्ट्रपति यादवले निजी क्षेत्रलाई उर्जा उत्पादनमा सहभागी गराएर राष्ट्रिय विकासलाई गतिशिल बनाउन आवश्यक रहेको बताउनुभयो । नेपाल जलविद्युत तथा नविकरणीय उर्जामा धनी देश भएको उल्लेख गर्दै यसको सदुपयोग गरी उर्जा आयातमा निर्भरता घटाउनुपर्ने बताउनुभएकाे छ ।





प्रतिक्रिया दिनुहोस्