काठमाडाैं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद निर्वाचन आयोगको कार्यालयमा शक्ति प्रदर्शनको रूपमा प्रकट भएको छ ।
पार्टीको संस्थापन पक्ष शेरबहादुर देउवा नेतृत्व र विशेष महाधिवेशन पक्ष गगन थापा नेतृत्व दुवैले एक-अर्काविरुद्ध आधिकारिकताको दावी गर्दै आयोग परिसरमा प्रदर्शन र धर्ना दिएका हुन् । विशेष महाधिवेशनबाट गगन थापालाई सभापति चयन गरेको पक्षले बिहीबार आधिकारिकताको माग गर्दै आयोगमा निवेदन दर्ता गराएको थियो । त्यसको प्रतिवादमा शुक्रबार बिहानै देउवा पक्षका शीर्ष नेता तथा कार्यकर्ताहरूको जम्बो टोली आयोग पुगेको हो ।
आयोग परिसरमा देउवा पक्षका नेताहरूले आफूहरू नै वैधानिक कांग्रेस भएको जिकिर गर्दै शक्ति प्रदर्शन गरेका छन् । संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशनलाई पार्टी विधानविपरीत भएको भन्दै आलोचना गरेका हुन् । उनीहरूले यदि आयोगले विधान, संविधान र कानूनविपरीत निर्णय गरेमा देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । यता, गगन थापा पक्षले पनि आयोगमा दबाब बढाउँदै धर्ना तथा प्रदर्शन गरेको छ । उनीहरूले बहुमत महाधिवेशन प्रतिनिधिको समर्थनमा विशेष महाधिवेशनबाट चयन भएको नेतृत्व नै आधिकारिक भएको दावी गरेका छन् । विशेष महाधिवेशनले नयाँ कार्यसमिति गठन गरिसकेको र पुरानो समिति स्वतः भंग भएको उनीहरूको तर्क छ ।
आयोगले दुवै पक्षको निवेदन तथा दावीमाथि छलफल गरिरहेको जनाएको हाे । आयोगको निर्णय संविधान, राजनीतिक दलसम्बन्धी ऐन, पार्टी विधान र विगतका नजिरका आधारमा हुने बताइएको छ । कांग्रेसको यो विवादले आगामी निर्वाचनलाई समेत प्रभावित पार्ने आशंका गरिएको छ । पार्टीको नाम, चुनाव चिन्ह ‘रुख’ र झण्डाको आधिकारिकता कसले पाउने भन्ने विषयमा आयोगको निर्णय निर्णायक हुने देखिन्छ । दुवै पक्षले आयोगको निर्णयलाई चुनौती दिने तयारी गरेका छन् ।
साेही विवादले नेपालको सबै भन्दा पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेस औपचारिक विभाजनको संघारमा पुगेको संकेत गरेको छ ।





प्रतिक्रिया दिनुहोस्