काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले नेपाली कांग्रेसको फुटका कारण आगामी निर्वाचनलाई कुनै असर नपर्ने बताउनुभएकाे छ ।
चितवनमा शुक्रबार भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै उहाँले कांग्रेस विभाजनपछि निर्वाचन के होला भन्ने प्रश्न उब्जिएको भन्दै निर्वाचनलाई असर पर्ने कुनै सम्भावना नरहेको बताउनुभएकाे हाे । निर्वाचनको मुखमा ठूलो पार्टी विभाजन हुनु कसैको लागि राम्रो नभएको उहाँको भनाइ छ । सरकारका प्रतिनिधि र निर्वाचन आयोग लगायत सुरक्षा निकायसँग कुरा गर्दा कांग्रेसका कारण निर्वाचनमा असर नपर्ने जवाफ पाएको समेत उहाँले बताउनुभयाे ।
सबै पार्टीहरू निर्वाचनतिर नै केन्द्रित भएकाले निर्वाचन हुनेमा ढुक्क हुन समेत उहाँले आग्रह गर्नुभएकाे छ । उहाँले आफ्नो दलका तर्फबाट प्रत्यक्षतर्फ टिकट वितरण शुरु गरिसकेको बताउनुभयाे । उहाँले अहिलेको अवस्थामा निर्वाचन बाहेक अरू कुनै विकल्प नभएको भन्दै अन्य विकल्पमा सोच्न थालिए दुर्घटना निम्त्याउने कारक बन्न सक्ने दावी गर्नुभएकाे छ ।
कार्यक्रममा भरतपुर महानगरकी प्रमुख रेणु दाहालले जीर्ण भवनबाट सेवाग्राहीहरूलाई सेवा प्रदान गर्न असहज भएकाले नयाँ भवन निर्माण गरिएको बताउनुभयाे । साेही ६ तले प्रशासकीय भवन ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माण भएको उहाँले बताउनुभएकाे छ ।





प्रतिक्रिया दिनुहोस्