Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


कांग्रेस आधिकारिकता विवाद उत्कर्षमा: संस्थापन पक्षधरको पनि आयोगमा धर्ना (तस्बिरसहित)


286
Shares

काठमाडाैं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ।

विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा नेतृत्वको समूहले पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षधरहरूले पनि आयोग परिसरमा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् । शुक्रबार दिउँसो संस्थापन पक्षका नेता तथा कार्यकर्ताहरू आयोग अगाडि भेला भई धर्नामा बसेका थिए । उनीहरूले थापा पक्षको विशेष महाधिवेशनलाई अवैध भएको तर्क गर्दै आधिकारिकता आफूहरूसँगै रहेको दावी गरेका छन् । यसअघि थापा समूहले पनि आयोगमा धर्ना दिएको थियो । दुवै पक्षको उपस्थितिका कारण आयोग परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।

बिहीबार थापा नेतृत्वको समूहले केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निवेदन दिएको थियो भने शुक्रबार बिहान संस्थापन पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूले आफूहरू नै आधिकारिक भएको दावी गर्दै निवेदन पेश गरेका थिए । निर्वाचन आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, कांग्रेसको विधान र विगतका नजिरका आधारमा निर्णय गर्ने जनाएको छ ।

कांग्रेसको यो विवादले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई समेत प्रभावित पार्ने आशंका गरिएको छ । दुवै पक्षले आ–आफ्नो दाबी बलियो बनाउन आयोगमा दबाब बढाइरहेका छन् । आयोगले छिट्टै यस विषयमा निर्णय लिने अपेक्षा गरिएको छ ।