काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद हृदयराम थानीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत उनले सुर्खेत क्षेत्र नं. २ बाट उम्मेदवार नबन्ने निर्णय सार्वजनिक गरेका हुन् । स्वास्थ्य अवस्थाका कारण निर्वाचनमा सक्रिय हुन नसक्ने भन्दै उनले उम्मेदवारीबाट पछि हट्ने बताएका छन् ।
थानीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म सुर्खेत क्षेत्र नं. २ बाट आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिस भएको यहाँहरू सबैलाई अवगत नै छ । तर करिब दुई महिनादेखि खुट्टामा देखिएको नसा सम्बन्धी समस्याका कारण सहजरूपमा हिँडडुल गर्न समेत सकिरहेको छैन ।’
डाक्टरको सल्लाहअनुसार हाल घरमै फिजियोथेरापिष्टको सहयोगमा उपचार गरिरहेको उल्लेख गर्दै उनले मनोनयन दर्तादेखि त्यसपछिका गतिविधिमा सक्रिय हुन नसक्ने अवस्था देखिएको बताएका छन् । ‘यही माघ ६ गते रहेको मनोनयन दर्तामा समेत उपस्थित हुन नसक्ने परिस्थितिका कारण फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएको छु,’ उनले लेखेका छन् ।
थानीले पछिल्लो राजनीतिक अवस्थालाई उल्लेख गर्दै मुलुकलाई निकास दिन निर्वाचन सम्पन्न हुनु आवश्यक रहेको पनि बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्