Logo १ माघ २०८२, बिहिबार | Thu Jan 15 2026


चालु आर्थिक वर्षकाे ६ महिनामा ५ खर्ब ८१ अर्ब बढी राजश्व संकलन

वास्तविक संकलन लक्ष्य भन्दा करिब १ खर्ब २९ अर्ब ८० करोड रूपैयाँले कम

104
Shares

काठमाडाैं । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा सरकारले कूल ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

अर्थ मन्त्रालयले साेही रकम गत पुससम्मको लक्ष्यको ८१ दशमलव ७५ प्रतिशत भएकाे जनाएकाे हो । सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । सोही अनुसार पुससम्मको लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ तय गरिएको थियो । तर वास्तविक संकलन लक्ष्य भन्दा करिब १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँले कम रहेको छ ।

अर्थमन्त्रालयका अनुसार पुस महिनामा मात्रैको राजश्व संकलन भने तुलनात्मक रूपमा सन्तोषजनक देखिएको छ । पुस महिनाका लागि १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ लक्ष्य तोकिएकामा १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको हाे। यसअनुसार पुस महिनाको प्राप्ति प्रतिशत ८९ दशमलव ९६ प्रतिशत रहेको छ । त्यसैगरी पुस ३० गते एकै दिनमा २० अर्ब २६ करोड रुपैयाँ राजश्व संकलन भएको अर्थमन्त्रालयले उपलव्ध गराएको विवरणमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ वार्षिक राजस्व लक्ष्य लिएको थियो । उक्त वर्ष पुससम्मको लक्ष्य ६ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा पुस २९ गते (मसान्त) सम्म ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ मात्र संकलन भएको थियो । त्यस वर्ष पुस महिनामा मात्रै १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।

अर्थमन्त्रालयका अधिकारीहरुका अनुसार चालु आर्थिक वर्षमा पुस महिनाको राजश्व संकलन अघिल्लो वर्षको सोही अवधि भन्दा केही सुधार देखिए पनि समग्र रूपमा पुससम्मको लक्ष्य प्राप्ति भने अझै चुनौतीपूर्ण देखिएको छ । बाँकी महिनामा राजश्व संकलनलाई तीब्र बनाउन नीतिगत र कार्यान्वयन तहमा थप प्रभावकारी प्रयास हुने मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताउनुभयो ।

उहाँले भन्नुभयो,-‘जेनजी आन्दोलनका कारण पछि पहिलो त्रैमासमा राजस्व संकलनमा केही अप्ठ्यारा आए । तर पछिल्ला दिनमा राजश्व संकलन सकारात्मक छ । आगामी दिनमा लक्ष्य अनुसार राजश्व उठ्ने सम्भावना छ ।’ प्रवक्ता पाण्डेयका अनुसार अर्थमन्त्रालयले राजश्व चुहावट रोक्दै आगामी दिन लक्ष्यअनुसार राजश्व उठाउन सबै मातहतका निकायलाई निर्देशन दिइरहेको हाे ।