Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


जारी विशेष महाधिवेशन नै काँग्रेसको वैधानिक थलो हो : नेता केसी


208
Shares

काठमाडाैं ।

नेपाली काँग्रेसका नेता जगदीश्वरनरसिंह केसीले शेरबहादुर देउवा पक्षले गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरलाई कारबाही गर्ने अधिकार नै नराख्ने टिप्पणी गर्नुभएको छ ।

बुधवार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता केसीले विशेष महाधिवेशनको बन्दसत्रबाट कार्यविधि पारित भएकै दिन निवर्तमान केन्द्रिय समिति स्वतः विघटन भइसकेको भन्दै उसले कुनैपनि प्रकारको कारबाही गर्न कानुनी हैसियत नराख्ने टिप्पणी गर्नुभयो ।

उहाँले जारी विशेष महाधिवेशन नै पार्टीको वैधानिक थलो भएको दाबी गर्दै सम्पूर्ण निर्णय यही प्रक्रियाअन्तर्गत हुने बताउनुभयो । उहाँले विशेष महाधिवेशनको हलबाट पार्टीको सभापति तथा अन्य पदाधिकारी घोषणा गरी सभापतिको हस्ताक्षरसहित पदाधिकारीको विवरण निर्वाचन आयोगमा पेस गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, जुन दिन विशेष महाधिवेशनको बन्दसत्रबाट कार्यविधि पास भयो त्यही दिन त्यही दिन पार्टीको निवर्तमान केन्द्रीय समिति विघटन भइसक्यो । उहाँहरु आधिकारिक हुनुहुन्न । विघटित कार्यसमितिले कसैलाई पनि कारबाही गर्ने अधिकार राख्दैन, छैन । वैधानिक हल यो हो ।

वैधानिक व्यवस्था यो हलअन्तर्गत चल्छ । २०१४ सालमा निवर्तमान सभापतिले बोलाउनुभयो । आज हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिहरुले बोलाउनुभयो । जसरी त्यो बेलामा वैधानिक रुपमा सभापति वीपी कोइराला हुनुभयो त्यहीअनुसार आज हामी यहाँबाट पार्टीको सभापति लगायत पदाधिकारी घोषणा गर्छौं । त्यसपछि पदाधिकारीको विवरणसहित सभापतिको हस्ताक्षर समेत निर्वाचन आयोगमा पेश गर्छौं ।’ उहाँले आउँदो निर्वाचनमा काँग्रेस नयाँ नीति र नेतृत्वसहित जनतामाझ जाने स्पष्ट पार्नुभयो ।