Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


माध्यमिक तहपछि विद्यालय जाने कम


0
Shares

काठमाडौं ।
नेपालमा माध्यमिक तहपछि विद्यार्थीको विद्यालयमा उपस्थितिको दर न्युन देखिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित सार्वजनिक गरेको विषयगत प्रतिवेदनले साक्षरता दर बढेपनि माध्यमिक तह पछिको पढाइ छाड्ने बढी नै रहेको देखिएको हो ।

आज कार्यालयले ‘नेपालमा शिक्षा र समावेशिता’ तथा ‘नेपालमा बालबालिकाको अवस्था’ विषयक प्रतिदेनहरु सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार पाँच वर्षको उमेरपछि विद्यालय जाने दर उच्च भएपनि माध्यमिक तहपछि विद्यालयमा उपस्थितिको दर न्युन देखाएको छ ।

अझैपनि १५–१९ वर्ष उमेर समूहका प्रत्येक चार जनामध्ये एकजना विद्यालयभन्दा बाहिर रहेको कार्यालयद्वारा सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार २०६८ सालदेखि २०७८ सालसम्मको १० वर्षको अवधिमा साक्षरता दर १६ प्रतिशतले वृद्धि भएको छ । १८ वर्षमुनिका बालबालिकाको दर लगभग शतप्रतिशत पुगेको कार्यालयद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रादेशिक रुपमा बागमती र गण्डकी प्रदेशको साक्षरता दर सबैभन्दा धेरै ९५ प्रतिशत रहेको छ । बालबालिकासम्बन्धी प्रतिवेदनअनुसार नेपालमा कुल ९८ लाख ६९ हजार ५८३ बालबालिका रहेका छन् जुन कुल जनसंख्याको ३४ प्रतिशत हो । प्रादेशिक रूपमा बालबालिकाको संख्यामा गहिरो असमानता देखिएको छ ।

मधेस र लुम्बिनी प्रदेशमा बालबालिकाको उपस्थिति तुलनात्मक रूपमा उच्च छ भने कोशी र गण्डकी प्रदेशमा न्युन रहेको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले बालबालिकाको आर्थिक गतिविधि, अपाङ्गता, जन्मदर्ता, बसाइँसराइ र पारिवारिक संरचनासम्बन्धी सूचकहरूमा समेत उल्लेखनीय प्रादेशिक भिन्नता रहेको देखाएको छ ।

केही प्रदेशमा बालश्रम, अपाङ्गता भएका बालबालिकाको अनुपात र जन्मदर्ताको अवस्था चिन्ताजनक रहेको प्रतिवेदनको निष्कर्ष छ ।