काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र मंगलबार बिहान ९ बजेदेखि पुनः शुरु हुने भएको छ ।
दोस्रो विशेष महाधिवेशन यहि पुस २७ र २८ गतेका लागि आयोजना गरिएको भए पनि समय अभावका कारण कार्यतालिका संशोधन गरिएको हो । सोमबार बन्दसत्र शुरु भएको र विभिन्न प्रतिवेदन उपरको छलफल लम्बिएकाले महाधिवेशनको कार्यतालिका संशोधन गरिएको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले बताउनुभयो।
उहाँका अनुसार आजसमेत महाधिवेशन प्रतिनिधिहरूको दर्ता निरन्तर रुपमा रहने भएको छ । विशेष महाधिवेशन पक्षधरहरुले महाधिवेशनमा सहभागी भइ हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरुको संख्या ७० प्रतिशत पुर्याउने दावी गरेका हुन् । सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै नेता सुवास पोखरेलले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरुको संख्या आइतबार २ हजार ६ सय ६२ रहेकोमा सोमबार ६ दशमलव २४ प्रतिशतले बढेको बताउनुभयो ।
मंगलबार नेतृत्व चयनका लागि बन्दसत्र शुरु हुने पनि उहाँले जानकारी दिनुभएको छ। मंगलबार निर्वाचन, अनुशासन, केन्द्रीय समिति लगायतका समितिहरू भंग गर्ने समेत उहाँले जानकारी दिनुभयो । यता संस्थापन पक्षलाई पनि सहमतिमा ल्याउने प्रयास जारी रहेको छ । यसका लागि सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशन आयोजना गरिरहेका नेताबीच मंगलबार पनि छलफल हुने भएको हो।
वार्तामा विशेष महाधिवेशन गरिरहेका गगन–विश्व समूहबाट प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य सहभागी हुने भएका छन् ।





प्रतिक्रिया दिनुहोस्