Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


राष्ट्र बैंकले आज २५ अर्ब बराबरको ऋणपत्र जारी गर्दै


208
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बन्ड) जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले साेमबार १ वर्ष अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ छ’ जारी गर्न लागेको हो । अनलाइनमार्फत आवेदन दिन सकिने उक्त ऋणपत्र जारी गरिने बैंकले सूचनामार्फत जानकारी दिएको छ । तथापि,यस ऋणपत्रमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) ले मात्र सहभागी हुन पाउने केन्द्रीय बैंकले जनाएको हाे । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्युनतम ५ करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्ने भएका छन् ।

तथापि, ऋणपत्र निष्कासन मितिमा काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा त्यस्ता काउन्टरपार्टीको स्वीकृत बोल रकम रद्द गरी सोको २।५० प्रतिशत दरको हर्जनासहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोर अन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइने पनि बैंकले जनाएकाे हाे । यसअघि केन्द्रिय बैंकले एक/एक वर्ष अवधिका तीनवटा ऋणपत्र जारी गरिसकेको छ । ब्याजदर बोलकबोलको माध्यमबाट हुने भएकाे छ। ब्याज भुक्तानी भने अर्धवार्षिक हुने भएकाे हाे ।

सावा भुक्तानी २०८३ साल पुस २८ गते हुने नेपाल राष्ट्र बैंकले जानकारी गराएकाे छ।