Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


आगामी निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिन सक्ने


104
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले सोमबार दिउँसो ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने भएका छन् ।

निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलले यहि पुस १३ र १४ गते पेश गरेको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने भएका हुन् ।

आयोगले सम्बन्धित सबै उम्मेदवारलाई सो सम्बन्धमा जानकारी गराएको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिनुभयो । आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।

बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सक्ने छन् । कुनै कारणवश सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत पनि नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको हो ।

कूल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १सय ६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० जना निर्वाचित हुने व्यवस्था रहेको छ ।