काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनका क्रममा २३ भदौमा नवयुवाहरूको मृत्यु भएको घटनालाई अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण भएको बताएका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जेनजी पुस्ता हाम्रै समाजमा, हाम्रै काखमा हुर्किएका भाइबहिनी भएको उल्लेख गरे ।
उनले २३ भदौको घटनामा संसद् भवन तोडफोड हुन दिएको भए पनि मानवीय क्षति टार्न सकिन्थ्यो कि भन्ने प्रश्न उठाउँदै त्यसो भएको भए कम्तीमा त्यति धेरै ज्यान नजाने र भोलिपल्टको व्यापक विध्वंश पनि नहुने धारणा राखे । महामन्त्री शर्माले २३ र २४ भदौमा भएका सम्पूर्ण घटनाको निष्पक्ष र गहिरो छानबिन हुनुपर्नेमा जोड दिए ।
जेनजी आन्दोलनको जिम्मेवारी उनीहरूको वास्तविक सहभागितासम्म मात्र सीमित हुनुपर्ने बताउँदै उनले आफू संलग्न नभएका घटनामा जेनजी पुस्तालाई दोषारोपण गर्नु अन्यायपूर्ण हुने स्पष्ट पारे । उनले सत्यतथ्यको आधारमा मूल्याङ्कन गर्दै दोषीमाथि कारबाही र निर्दोषको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए ।





प्रतिक्रिया दिनुहोस्