Logo २६ पुस २०८२, शनिबार | Sat Jan 10 2026


पूर्वराजा ज्ञानेन्द्रको सन्देश: ‘हिजो देश नबनेको चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा’


1.4k
Shares

काठमाडौं । राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले भिडियो सन्देश जारी गर्दै आफू नारायणहिटी दरबारबाट बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि देशले सामना गर्नुपरेका संकटले गहिरो चिन्ता दिएको बताउनुभएकाे छ ।

उहाँले हिजो देश नबनेको चिन्ता रहेकामा आज देश नै नबच्ने हो कि भन्ने निराशा उत्पन्न भएको उल्लेख गर्नुभयाे ।

पूर्वराजा शाहले भाषण, जादू र चमत्कारले देश नबन्ने भन्दै मुलुक निर्माणका लागि जिम्मेवारीबोध र साझा प्रयास आवश्यक रहेको बताउनुभयाे । सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा रहेको राजसंस्थाले जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुन नसक्ने उहाँको भनाइ छ । उहाँले सबै नेपालीलाई कर्तव्यबोध गर्दै ‘पृथ्वीपथ’मा लाग्न आह्वान गर्नुभयाे ।

उहाँले झण्डै दुई दशकअघि शान्ति, स्थायित्व र आर्थिक प्रगतिको आश्वासनसहित सत्तामा पुगेका दलहरूको चाहनाअनुसार आफूले श्रीपेच जनताको नासो जनताकै सुरक्षित संरक्षित निकायमा बुझाएर सहयोगी भूमिकामा राजकाजबाट बाहिरिएको पनि स्मरण गराउनुभयाे ।

सन्देशमा उनले पृथ्वीनारायण शाहको योगदानको प्रशंसा गर्दै आधुनिक नेपालको एकीकरणपछि देशलाई चार वर्ण ३६ जातको साझा फूलबारीका रूपमा चित्रण गरिएको उल्लेख गर्नुभयाे । नेपाल राजा मात्र होइन, जनता र राजाको समान स्वामित्वको देश भएको सन्देश त्यसैबेला दिइएको भन्दै अहिले पनि राष्ट्रिय एकता, स्थायित्व र समृद्धिका लागि सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयाे ।