Logo २६ पुस २०८२, शनिबार | Sat Jan 10 2026


स्वास्थ्य-नागरिक जीवनको सुरक्षा, राष्ट्रको स्थिरता र विकासको मौलिक आधार


0
Shares

स्वास्थ्य कुनै “सेवाको सूची” होइन; यो नागरिकको जीवन–गुणस्तर, श्रम-क्षमता, आत्मसम्मान र राष्ट्रको दीर्घकालीन स्थिरतालाई जोड्ने आधारभूत सुरक्षा–प्रणाली हो। जुन राष्ट्रका नागरिक स्वस्थ हुन्छन्, त्यो राष्ट्र निर्णयमा स्पष्ट, उत्पादनमा सक्षम र भविष्यमा आत्मनिर्भर हुन्छ। स्वास्थ्य कमजोर भयो भने गरिबी पुस्तौँसम्म सर्छ, उत्पादकत्व घट्छ र समाजमा असन्तुलन गहिरिन्छ। नेपालवादका दृष्टिमा स्वास्थ्य मानव–पुँजी जोगाउने राष्ट्रिय सुरक्षा–तन्त्र हो-भित्रैबाट राष्ट्र उठाउने शक्ति हो। “स्वास्थ्य बलियो भयो भने राष्ट्र भित्रैबाट उठ्छ।”

नेपालको स्वास्थ्य व्यवस्था दशकौँदेखि पुरानै ढाँचामा अड्किएको छ। सेवा छ, तर गुणस्तर समानयोग्य छैन; विशेषज्ञ उपचार सहरमा थुप्रिएको छ; औषधि र उपकरण महँगो र अनियमित छन्; बीमा कमजोर छ; नीति निरन्तरता फितलो छ। खर्च बढिरहे पनि नागरिकको अनुभूति सुधारिँदैन। यसले संकेत गर्छ-समस्या स्रोतको अभाव होइन, संरचना, व्यवस्थापन र कार्यशैलीको कमजोरी हो। “स्वास्थ्यको मूल्य बजेटमा होइन, नागरिकको जीवनमा देखिनुपर्छ।”

आधारभूत स्वास्थ्य सेवा राष्ट्रको जीवनरेखा हो, तर धेरै ठाउँमा स्वास्थ्यचौकी “भवन” छ-मानवस्रोत, औषधि र उपकरण पर्याप्त छैन। आपतकालमा दूरी, मौसम र ढुवानी नै जीवन–मृत्युबीचको रेखा बन्छ। उपचार पाउन यात्रा नै जोखिम बन्नु स्वास्थ्य अधिकारको पराजय हो। नेपालवादले आधारभूत सेवालाई “दूरीविहीन सेवा” मा रूपान्तरण गर्ने दृष्टि राख्छ-जहाँ स्थान होइन, आवश्यकता निर्णायक हुन्छ। “उपचारको दूरी घटेपछि मात्र स्वास्थ्य अधिकार वास्तविक बन्छ।”

विशेषज्ञ सेवा अझै सहरको विशेषाधिकार बनेको छ। ग्रामीण छेत्रका नागरिकले उपचारका लागि समय, सम्पत्ति र जोखिम तिर्छन्। यसले स्वास्थ्य असमानता मात्र होइन, आर्थिक र सामाजिक विभाजन बढाउँछ। नेपालवाद भन्छ-विशेषज्ञ उपचार नागरिकको अधिकार हो, भूगोलको उपहार होइन; सेवा नागरिकतर्फ आउनुपर्छ, नागरिक सेवा खोज्दै भौँतारिनु हुँदैन। “सेवामा भूगोल बाधा बन्नु राष्ट्रको असफलता हो।” मातृ–शिशु स्वास्थ्य राष्ट्रको सभ्यताको प्रत्यक्ष सूचक हो। सुरक्षित गर्भावस्था, सुरक्षित प्रसूति र प्रारम्भिक पोषणले भविष्यको नागरिक बनाउँछ। मातृ मृत्यु, शिशु मृत्यु र कुपोषण अझै चुनौती छन्, जसले शिक्षा, सीप र स्वास्थ्यको आधार नै कमजोर पार्छ। नेपालवादका लागि बालबालिकामा लगानी भनेको भविष्यको सुरक्षा हो। “एक स्वस्थ बालक राष्ट्रको भविष्य हो; कुपोषित बालक राष्ट्रको चेतावनी।”

संक्रामक रोग नियन्त्रण र महामारी–तयारी अब वैकल्पिक विषय होइन। महामारीले देखायो-पूर्वतयारी नभएको संरचनाले राष्ट्रलाई ठप्प पार्न सक्छ। परीक्षण, निगरानी, आपूर्ति सुरक्षा, अस्पताल क्षमता र संकट–समन्वय पहिल्यै तयार हुनुपर्छ। नेपालवाद महामारी तयारीलाई दीर्घकालीन स्वास्थ्य–सुरक्षा संरचनाका रूपमा संस्थागत गर्न चाहन्छ। “तयारीविहीन प्रणालीले संकटमा राष्ट्रलाई असहाय बनाउँछ।”

गैर–सञ्चारी रोग (मधुमेह, मुटुरोग, क्यान्सर, उच्च रक्तचाप) तीव्र रूपमा बढ्दै छन्। यी रोग उपचारमुखी होइन; रोकथाममुखी व्यवस्थाले मात्र नियन्त्रण गर्छ। नियमित परीक्षण, जीवनशैली सुधार, पोषण शिक्षा र प्रारम्भिक पहिचान बिना खर्च बढ्छ, परिणाम सुध्रँदैन। नेपालवाद भन्छ-उपचार बाध्यता हो; रोकथाम बुद्धिमानी। “रोग रोक्नु उपचारभन्दा सस्तो मात्र होइन, बुद्धिमानी पनि हो।”

औषधि, उपकरण र आपूर्ति–शृंखला स्वास्थ्यको मौन मेरुदण्ड हो। आवश्यकता हुँदा औषधि नहुनु, मूल्य अस्थिर हुनु, उपकरण ढिलो आउनु-यी संरचनागत कमजोरी हुन्। पारदर्शी खरिद, गुणस्तर परीक्षण, चिस्यान–श्रृंखला, समयमै ढुवानी, अभिलेख–आधारित भण्डारण र नियमित मर्मत बिना सेवा भरोसायोग्य हुँदैन। नेपालवाद आपूर्तिलाई जीवनरेखा मान्छ। “आपूर्ति कमजोर भयो भने उपचार पनि कमजोर हुन्छ।”

स्वास्थ्यकर्मी अग्रपंक्ति रक्षक हुन्। तर उनीहरू असुरक्षा, अव्यवस्थित करियर संरचना, कम प्रोत्साहन र राजनीतिक हस्तक्षेपको दबाबमा छन्। सम्मान, तालिम, स्पष्ट मूल्यांकन र सुरक्षित कार्य–वातावरण बिना स्वास्थ्य व्यवस्था बलियो हुँदैन। नेपालवाद स्वास्थ्यकर्मीलाई सेवा प्रदायक मात्र होइन-राष्ट्रको जीवन-रक्षक संरक्षक मान्छ। “स्वास्थ्यकर्मी सम्मानित भए राष्ट्र निडर बन्छ।”
डिजिटल स्वास्थ्य नेपालका लागि रूपान्तरणको अवसर हो-दूर-परामर्श, स्वास्थ्य अभिलेख, रोग निगरानी र स्वास्थ्य तथ्याङ्क प्रणाली। यो प्रतिस्थापन होइन; समान पहुँचको सेतु हो। अन्ततः स्वास्थ्य नेपालवादको मानव–पुँजी राष्ट्रदर्शनको केन्द्र हो-अब नेपाल उपचार खोज्दै विदेश धाउने होइन; आफ्नै देशमा गुणस्तरीय, अनुशासित र संकट–सामना गर्न सक्षम राष्ट्र बन्नुपर्छ। “स्वस्थ नागरिक नै स्थिर र समृद्ध राष्ट्रको वास्तविक आधार हो।”

१ राष्ट्रिय स्वास्थ्य दृष्टि तथा नीतिगत सुधार
स्वास्थ्यलाई “सहायक क्षेत्र” होइन, राज्यको मूल कर्तव्य बनाउने स्पष्ट दृष्टि बिना सुधार टिक्दैन। एकीकृत नीति, समान सेवा–मानक, संघ–प्रदेश–स्थानीय तहको अधिकार–कर्तव्य स्पष्टता र तथ्यमा आधारित निर्णय अनिवार्य छन्। रोकथाम, प्रवर्द्धन, उपचार र सहायक सेवाबीच सन्तुलन राखी बजेटलाई नतिजा–आधारित बनाइनुपर्छ-“कति खर्च भयो?” होइन, “के बद्लियो?” भन्ने मापन। सार्वजनिक–निजी भूमिकाको सीमा तय गरी न्यूनतम गुणस्तर, मूल्य अनुशासन र नागरिक सुरक्षा राज्यले सुनिश्चित गर्नुपर्छ। भ्रष्टाचार र लापरबाहीमा शून्य सहनशीलता नै नीति विश्वसनीयताको आधार हो।
२ आधारभूत स्वास्थ्य सेवा तथा आपतकालीन पहुँच
पहिलो सम्पर्क बिन्दु बलियो भए मात्र समग्र व्यवस्था स्थिर हुन्छ। स्वास्थ्यचौकीलाई “भवन”बाट कार्यशील सेवा केन्द्र बनाउँदै मानवस्रोत, औषधि, उपकरण र नियमित सेवामापदण्ड सुनिश्चित गर्नुपर्छ। आपतकालीन सेवामा समय नै जीवन हो—एकल आपतकालीन नम्बर, मानकीकृत एम्बुलेन्स सञ्जाल, आघात उपचार, रक्त व्यवस्थापन र स्पष्ट सन्दर्भ–प्रणाली चाहिन्छ। दुर्गमका लागि भ्रमणकारी सेवा, चल्ती उपचार टोली र दूर–परामर्शले दूरी घटाउँछ। दुर्गम सेवा गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन, सुरक्षा र करियर लाभ जोडिएपछि मात्र उपस्थिती टिक्छ। “स्थान” होइन “आवश्यकता” निर्णायक हुने व्यवस्था स्वास्थ्य अधिकारको व्यवहारिक रूप हो।
३ विशेषज्ञ उपचार सेवा तथा अस्पताल प्रणाली सुधार
विशेषज्ञ उपचार सहरमा थुप्रिनु स्वास्थ्य असमानताको मूल कारण हो। प्रदेश/क्षेत्रीय स्तरमा विशेषज्ञ केन्द्र, व्यवस्थित सन्दर्भ–प्रणाली र सेवा–वितरणको सन्तुलन बिना नागरिकले समय, सम्पत्ति र जोखिम तिर्छ। अस्पताल सुधारको केन्द्र भवन होइन—सेवाप्रक्रिया, संक्रमण नियन्त्रण, पालो व्यवस्थापन, सेवाआचरण र गुणस्तर मापदण्ड हो। जनशक्ति अभाव समाधानका लागि विशेषज्ञ उत्पादन, छात्रवृत्ति–सेवा बाँध्ने नीति र फर्किने विशेषज्ञका लागि आकर्षक वातावरण चाहिन्छ। उपकरण किनेर थन्क्याउने प्रवृत्ति रोक्न मर्मत संरचना र सञ्चालन अनुशासन अनिवार्य हुन्छ। दूर–परामर्शले विशेषज्ञ राय राष्ट्रभर फैलाउन सक्छ।
४ मातृ–शिशु स्वास्थ्य तथा पोषण कार्यक्रम
आमाको सुरक्षा र शिशुको पहिलो एक हजार दिन राष्ट्रको भविष्य हो। गर्भपूर्व जाँच, जोखिम पहिचान, खोप, पोषण सल्लाह र प्रसूति–पछिको अनुगमन सबै महिलामा समान रूपमा पुग्नुपर्छ। सुरक्षित प्रसूति सुनिश्चित गर्न दक्ष जनशक्ति, आपतकालीन प्रसूति सेवा, रक्त उपलब्धता र समयबद्ध सन्दर्भ–प्रणाली आवश्यक छन्। कुपोषण व्यक्तिगत कमजोरी होइन—खाद्य, शिक्षा र आयसँग जोडिएको संरचनागत चुनौती हो; त्यसैले विद्यालय पोषण, सूक्ष्म पोषक, स्थानीय पोषण–आधारित उत्पादन र व्यवहार परिवर्तन कार्यक्रम आवश्यक छन्। पुरुष सहभागिता, समुदाय स्वास्थ्य स्वयंसेवक र गर्भ–खोप अनुस्मारक प्रणाली जोड्दा जोखिम घट्छ। “आमा सुरक्षित भईन भने भविष्य सुरक्षित हुन्छ” व्यवहारमा उतार्नुपर्छ।
५ संक्रामक रोग नियन्त्रण तथा महामारी पूर्वतयारी
महामारी आउँछ कि आउँदैन भन्ने होइन; आउँदा राष्ट्रले कति छिटो पहिचान, परीक्षण र प्रतिक्रिया दिन्छ भन्ने निर्णायक हुन्छ। समुदाय–आधारित निगरानी, रोग पहिचान सूचक, जोखिम–सूचना प्रणाली र प्रारम्भिक चेतावनी सुदृढ हुनुपर्छ। प्रदेश/जिल्ला प्रयोगशाला सञ्जाल, चल्ती परीक्षण इकाइ र आपतकालीन प्रयोगशाला तयारीले वास्तविक अवस्था छिटो देखाउँछ। एकीकृत स्वास्थ्य आपतकालीन कमान्ड, अलग्याउने व्यवस्था, सम्पर्क खोजी, सघन उपचार क्षमता, अक्सिजन/सुरक्षा सामग्री भण्डार र अभ्यास कार्यक्रम नियमित चाहिन्छ। स्वच्छ व्यवहार र जोखिम सञ्चारलाई विद्यालय–समुदायसँग जोड्दा संक्रमण घट्छ। तयारी स्थायी संरचना बन्यो भने संकट व्यवस्थापनयोग्य हुन्छ।
६ गैर–सञ्चारी रोग रोकथाम तथा दीर्घरोग व्यवस्थापन
गैर–सञ्चारी रोग मौन रूपमा बढ्छ; ढिलो पहिचानले खर्च र पीडा दुवै बढाउँछ। त्यसैले प्राथमिक तहमा नियमित जाँच, जीवनशैली परामर्श, पोषण शिक्षा र निरन्तर अनुगमन प्रणाली बसाल्नुपर्छ। दीर्घरोग व्यवस्थापनमा औषधि निरन्तरता, समयमै पुनःजाँच, सन्दर्भ स्पष्टता र स्वास्थ्य अभिलेख निर्णायक छन्। विद्यालय, कार्यस्थल र समुदायमा स्वस्थ बानीलाई संस्कार बनाउने-नुन/चिनी/तेल नियन्त्रण, नियमित व्यायाम, तनाव व्यवस्थापन र मानसिक स्वास्थ्य सहयोग जोड्नुपर्छ। रोगलाई व्यक्तिको दोष होइन, प्रणालीको जिम्मेवारी ठान्दा समाधान टिक्छ। रोकथामलाई राष्ट्रिय बुद्धिमानी र आर्थिक रणनीति दुवै रूपमा संस्थागत गर्नुपर्छ।
७ औषधि, स्वास्थ्य उपकरण तथा आपूर्ति–शृंखला सुदृढीकरण
उपचारको क्षणमा औषधि/उपकरण नहुनु व्यवस्था असफल हुनु हो। आवश्यक औषधिको स्पष्ट सूची, गुणस्तर परीक्षण, क्षेत्रीय भण्डार र माग–आधारित वितरणले अभाव घटाउँछ। खरिद प्रक्रिया पारदर्शी बनाउँदै भण्डारण अभिलेख, म्याद अनुगमन, माग अनुमान र चिस्यान–श्रृंखला अनिवार्य गर्नुपर्छ। उपकरण खरिद गर्दा सञ्चालन, तालिम, मर्मत र स्पेयर पार्टसहितको “पूर्ण जीवनचक्र योजना” आवश्यक छ—नत्र सम्पत्ति थन्किन्छ। आपतकालीन भण्डार र छिटो आपूर्ति संयन्त्रले संकटमा सेवा निरन्तर राख्छ। जिम्मेवारी स्पष्ट, मापन सार्वजनिक र अनियमिततामा कडा कारबाही भए मात्र आपूर्ति–विश्वास बन्छ।
८ स्वास्थ्यकर्मी सीप–विकास, सेवा–अनुशासन तथा सम्मान प्रणाली
स्वास्थ्य व्यवस्था नागरिकले नीति होइन, स्वास्थ्यकर्मीको व्यवहारबाट मापन गर्छ। त्यसैले निरन्तर तालिम, अद्यावधिक ज्ञान, अभ्यास–आधारित सिकाइ र स्पष्ट सेवाआचरण संहिता अनिवार्य छ। कार्यभार सन्तुलन, सुरक्षित कार्य–परिस्थिति, करियर संरचना, निष्पक्ष मूल्यांकन र प्रोत्साहनले सेवा गुणस्तर स्थिर बनाउँछ। दुर्गम सेवामा अतिरिक्त सुविधा र सम्मानजनक सुरक्षा नहुँदा जनशक्ति टिक्दैन। राजनीतिक हस्तक्षेप घटाएर पेशागत स्वायत्तता कायम हुनुपर्छ। “सम्मान” भाषण होइन—उचित पारिश्रमिक, सुरक्षा, तालिम अवसर र कामको गरिमामा देखिनुपर्छ। सक्षम र सम्मानित स्वास्थ्यकर्मी बनेपछि मात्र नागरिकको भरोसा पुनःनिर्माण हुन्छ।

९ डिजिटल स्वास्थ्य, दूर–परामर्श तथा स्वास्थ्य–डाटा प्रणाली
डिजिटल स्वास्थ्य प्रविधिको प्रदर्शन होइन; उपचार ढिलाइ र पहुँच असमानता घटाउने साधन हो। एकीकृत स्वास्थ्य अभिलेख, परीक्षण प्रतिवेदनको विद्युतीय व्यवस्था, दूर–परामर्श र रोग निगरानी तथ्याङ्कले सेवाको निरन्तरता, पारदर्शिता र निर्णय–गुणस्तर बढाउँछ। तर यसका लागि तथ्याङ्क गोपनीयता, सूचना सुरक्षा, एकरूप मानक, प्रणाली–जडान र स्वास्थ्यकर्मीको डिजिटल क्षमता अनिवार्य छन्। दूर–परामर्शलाई अस्थायी विकल्प होइन, नियमित सेवामा जोड्नुपर्छ—विशेषज्ञ राय दुर्गमसम्म पुर्‍याउन। तथ्याङ्क समयमै सार्वजनिक हुँदा जोखिम देखिन्छ, स्रोत सही ठाउँमा जान्छ, र जिम्मेवारी स्पष्ट हुन्छ। सही प्रणाली बनेपछि कागज, लाइन र दूरीले सेवा रोक्दैन।
१० स्वास्थ्य बीमा सुधार तथा कमजोर वर्गका लागि पहुँच विस्तार
उपचारको डरभन्दा ठूलो डर खर्चको हुन्छ—यही डरले ढिलाइ गराउँछ र रोग गहिरिन्छ। बीमालाई प्रशासनिक योजना होइन, सामाजिक सुरक्षाका रूपमा सुधार गर्नुपर्छ: स्पष्ट सेवा–प्याकेज, अस्पताल मान्यता, औषधि मूल्य अनुशासन, दाबी भुक्तानी समयमै र पारदर्शी अभिलेख। जोखिम बाँडफाँट बलियो बनाउन चरणबद्ध अनिवार्यता र सार्वजनिक–निजी सहकार्य आवश्यक हुन्छ। गरिब, दीर्घरोगी, ज्येष्ठ, फरक क्षमता भएका र दुर्गम नागरिकका लागि राज्य–समर्थित बीमा शुल्क, प्राथमिकता सेवा र सरल प्रक्रिया चाहिन्छ। कमजोर वर्ग सुरक्षित नभएसम्म व्यवस्था न्यायपूर्ण हुँदैन। बीमा बलियो भयो भने उपचार समयमै सुरु हुन्छ, परिवार ऋणमा डुब्दैन, र राष्ट्रिय उत्पादकता जोगिन्छ।

नेतालाई भेट्दा, घरदैलोमा आउँदा वा अन्तर्वार्ता लिँदा नागरिकले सभ्य तर स्पष्ट रूपमा सोध्न सक्ने स्वास्थ्य सम्बन्धी ११ निर्णायक प्रश्न –
१) “दूरीविहीन स्वास्थ्य सेवा” कहिलेदेखि सुरु गर्नुहुन्छ ? स्वास्थ्य सेवा नागरिककहाँ पुर्‍याउने प्रतिबद्धता ब्यक्त गर्न सक्नुहुन्छ ? गर्नुहुन्छ भने पहिलो १२ महिनाभित्र आधारभूत सेवाको पहुँच कति प्रतिशत र कसरि बढ्छ?
२) स्वास्थ्यचौकीलाई भवनबाट “चल्ने सेवा” बनाउन तपाइको योजना के छ ? पहिलो १ वर्षमा चिकित्सक/नर्स, औषधि, उपकरण जस्ता न्यूनतम मापदण्ड कति स्वास्थ्यचौकीमा अनिवार्य बनाउनुहुन्छ? नपुगेमा जिम्मेवारि कसले लिन्छ ?
३) आपतकालीन सेवामा “समय मापदण्ड” के हो ? एम्बुलेन्स/आघात उपचार/रक्त व्यवस्थापनमा कति मिनेटभित्र सेवा पुग्ने मापदण्ड तोक्नुहुन्छ? एकल आपतकालीन नम्बर कहिलेदेखि पूर्ण रुपमा लागू गर्नुहुन्छ ?
४) विशेषज्ञ उपचार गाउँ–जिल्लातर्फ लैजाने ठोस योजना के छ तपाइँ संग ? प्रदेश/क्षेत्रीय विशेषज्ञ केन्द्र कति वटा बनाउनु हुन्छ ? कति समयभित्र बनाउनु हुन्छ ? पहिलो १ वर्षमा नागरिकले उपचारका लागि सहर धाउनुपर्ने बाध्यता कति प्रतिशत घटाउने योजना छ तपाई संग ?
५) औषधि महँगो र अनियमित हुन नदिने ३ कदम के के हुन् ? आवश्यक औषधिको उपलब्धता, मूल्य अनुशासन र गुणस्तर परीक्षण—पहिलो वर्षमा कुन ३ सुधार अनिवार्य रुपमा गर्नुहुन्छ ? औषधि अभाव दोहोरिए कसलाई र कसरि कारबाही गर्नु हुन्छ ?
६) थन्किएका उपकरण चलाउने योजना के छ तपाई संग ? उपकरण किनेर बिग्रिएपछि थन्किने समस्या छ। मर्मत टोली, स्पेयर पार्ट , तालिम-पहिलो ६ महिनामा के के सुरु हुन्छ? कति समय भित्र ति उपकरण पुनः सञ्चालन मा आउछन ?
७) मातृ–शिशु मृत्यु र कुपोषण घटाउने तपाइको लक्ष्य के हो ? पहिलो १२ महिनामा मातृ/शिशु जोखिम घटाउन कुन ३ कार्यक्रम? समयसीमा र मापन सूचक के–के हुन् ?
८) गैर-सञ्चारी रोग रोकथामलाई प्राथमिक तहमा कसरी उतार्नुहुन्छ? नियमित जाँच, जीवनशैली परामर्श, मानसिक स्वास्थ्य सहयोग-पहिलो १ वर्षमा कति पालिकामा सुरु हुन्छ?
९) महामारी तयारीलाई स्थायी संरचना बनाउने तपाइको ठोस योजना के हो ? प्रयोगशाला सञ्जाल, अक्सिजन/सुरक्षा सामग्री भण्डार, अभ्यास कार्यक्रम-पहिलो वर्षमा कुन-कुन अनिवार्य गर्नुहुन्छ ? संकट आए कमान्ड प्रणाली कसले र कसरि चलाउँछ?
१०) स्वास्थ्यकर्मीको सम्मान “भाषण” होइन-व्यवस्था कहिले सम्म लागु हुन्छ ? दुर्गम प्रोत्साहन, करियर संरचना, सुरक्षा, निष्पक्ष मूल्यांकन-पहिलो वर्षमा कुन ३ निर्णय हुन्छन ? राजनीतिक हस्तक्षेप रोक्ने व्यवहारिक उपाय के हो ?
११) स्वास्थ्य बीमाको भरोसा बढाउन तपाइको मापनयोग्य प्रतिबद्धता के छ ? बीमाको सेवा–प्याकेज, दाबी भुक्तानीको समय, कमजोर वर्गको संरक्षण—पहिलो १ वर्षमा कति दिनभित्र दाबी तिर्ने बनाउनु हुन्छ ? मासिक/त्रैमासिक रुपमा रिपोर्ट कसरि सार्बजनिक गर्नुहुन्छ ? सुधार नआए जवाफदेहीता कसरि लिनुहुन्छ ?