काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले देशलाई ‘उज्यालो नेपाल’ बनाउने उद्देश्यसहित अब आफ्नो बाटो पूर्ण रूपमा राजनीतिक यात्रातर्फ मोडिएको बताएका छन् ।
प्रधानमन्त्रीसहितको आग्रहपछि घिसिङले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएका हुन् । राजीनामापछि उनले भोलिदेखि नै आफू सक्रिय राजनीतिमा होमिने स्पष्ट पारे । यसअघि मन्त्रालयको जिम्मेवारीका कारण खुला रूपमा राजनीतिक गतिविधिमा संलग्न हुन नसकेको उल्लेख गर्दै उनले अब भने पूर्ण समय राजनीतिलाई दिने बताए ।
‘म पदबाट बाहिरिएको छु । तर जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन,’ घिसिङले भने, ‘उज्यालो नेपाल बनाउन सशक्त रूपमा अबको मेरो बाटो राजनीतिक यात्रा नै हुनेछ ।’
देशभित्र देखिएका समसामयिक समस्या, वर्तमान परिस्थिति र अवस्थालाई परिवर्तन गर्न राजनीतिक नेतृत्वमा जान आवश्यक ठानेको उनले बताए । ‘अब त्यो समय आएको छ । भोलिदेखि नै मेरो राजनीतिक जीवन सुरु हुन्छ र प्रभावकारी हुन्छ,’ उनले भने, ‘देशको अवस्थालाई परिवर्तन गर्न राजनीतिक नेतृत्वमा जानकै लागि आज मन्त्रिपरिषद्बाट राजीनामा दिएर अघि बढेको हुँ ।’यसअघि घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच उपसभापति बन्ने समझदारी भएको चर्चा भए पनि उनले त्यो अझै कार्यान्वयन नभएको स्पष्ट पारे ।
‘उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमतिमा मेरो नाम उल्लेख भए पनि त्यो हालसम्म कार्यान्वयनमा आएको छैन,’ उनले भने, ‘मैले अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिएको छैन ।’





प्रतिक्रिया दिनुहोस्