Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


थारू समुदायले कपिलवस्तुमा माघी (खिचडी) महोत्सवकाे आयाेजना गर्दै


455
Shares

सुशील गैरेसंवाददाता

कपिलवस्तु। कपिलवस्तुमा थारु समुदायले आफ्नो नयाँ वर्ष मनाउन माघी (खिचडी) महोत्सव आयोजना गर्न लागेको छ।

थारु समुदायले कपिलवस्तुका ३ स्थानमा महोत्सवकाे आयोजना गर्न लागेको जनाएकाे हाे। थारु जातिको भाषा, कला, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले जिल्लाका ३ पालिकामा नगरस्तरीय महोत्सव आयोजना गर्न लागिएको थारु कल्याणकारिणी सभा कपिलवस्तुले बताएकाे छ।

‘हम्मन संस्कृति, हम्मनके सान, भूमिपुत्र थारु हमरे बचाई अपन पहिचान’ भन्ने नारासहित सञ्चालन हुने भएकाे हाे। थाकस कपिलवस्तुका अनुसार बुद्धभूमि नगरपालिकामा यहि पुस २९, ३० र माघ १ गते बुड्ढी तालमा, शिवराज नगरपालिकामा आगामी माघ १, २ र ३ गते उमरीमा र बाणगंगा नगरपालिकामा माघ २, ३ र ४ गते लखनपारामा माघी महोत्सव आयोजना हुने भएको छ ।

महोत्सवले थारु जातिको पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने थाकस कपिलवस्तुका सभापति पवन थारुले बताउनुभएकाे छ । उहाँले थारु समुदायको हकहित र अधिकार संरक्षणका लागि माघी पर्वलाई भव्य रूपमा मनाइँदै आएको बताउनुभयाे। महोत्सवमा थारु जातिको भाषा, कला र संस्कृति झल्कने प्रदर्शनी, थारु खानाका परिकार स्टल, र थारु नाच तथा झाँकी प्रदर्शन हुने भएका छन्। महोत्सव अवधिभरी झुमरा, झर्रा, बड्का नाच, लाठी नाच, मयूर नाच, सजनी विरहनी र रेकर्ड डान्स प्रतियोगिता जस्ता साँस्कृतिक कार्यक्रम आयोजना गरिनेछन्।

त्यसैगरी, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले महोत्सवलाई अझ मनोरञ्जनात्मक बनाउने सभापति थारूले बताउनुभयाे।