Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सामाजिक सद्भाव कायम राख्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको १० बुँदे निर्देशनात्मक सर्कुलर

गैरकानूनी क्रियाकलाप गर्नेलाई अविलम्ब कानूनी दायरामा ल्याएर कारबाही प्रक्रिया शुरु गर्न निर्देशन

247
Shares

काठमाडौं। गृह मन्त्रालयले मधेशका केही जिल्लामा धार्मिक तथा सामाजिक सद्‌भाव खलबल्याउने गरी भएका घटनापछि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ।

गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीले मंगलबार जारी गरेकाे निर्देशनमा सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कानूनले निषेध गरेका गैरकानूनी क्रियाकलाप गर्ने जो कोहीलाई अविलम्ब कानूनी दायरामा ल्याई कारबाही प्रक्रिया शुरु गर्न भनिएको हो ।

गृहले धार्मिक, सामाजिक, एवंम सांस्कृतिक सद्‌भाव र सहिष्णुता प्रवर्द्धन गर्न सरोकारवालासहितको समन्वय बैठक गर्न समेत सबै जिल्ला प्रशासनलाई निर्देश गरेको छ । यसका लागि जिल्ला स्थित राजनीतिक दलका प्रमुखहरू, सामाजिक, साँस्कृतिक एवं धार्मिक क्षेत्रका अगुवाहरूलाई सद्‌भाव का लागि सार्वजनिक आह्वान गर्ने गृहले निर्देशन दिएकाे हाे।

त्यस्तै, सबै पक्षहरूको सहभागितामा सद्‌भाव र्‍याली आयोजना गरी त्यस्ता घटनाहरू बढ्न नदिने र सीमा क्षेत्रमा हुने आवागमनलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाउन पनि गृहको सर्कुलरमा भनिएको छ ।