शंकर बडुवाल
रामेछाप ।
आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनका लागि रामेछापबाट ८ जनाले दाबी गरेका छन् ।
नेकपा (एमाले) जिल्ला कमिटी रामेछापको मन्थलीमा जारी छैटौँ पूर्ण बैठकमा बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल सहित ८ जनाले दाबी गरेका हुन् ।
जिल्ला अध्यक्ष पुरुषोत्तम कडेंरियाको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य माधव ढुङ्गेलको प्रमुख आतिथ्यमा मङ्गलवारदेखि सुरु भएको बैठकमा उम्मेदवारको योग्यता, पार्टीमा पुर्याएको योगदान र स्थानीय स्तरमा उनीहरूको चुनावी प्रभावबारे छलफल भइरहेको छ ।
एमाले रामेछापका प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठका अनुसार प्रतिनिधिसभाका लागि ८ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । दाबी गर्नेहरूमा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेल, एमाले बागमती प्रदेशका अध्यक्ष तथा पूर्व मन्त्री कैलाश प्रसाद ढुङ्गेल, कमलप्रसाद चौलागाईँ, रत्न गौतम, शान्तिप्रसाद पौडेल, परशुराम बस्नेत, केशर बुढाथोकी र गीता कार्की रहेका छन्।
बैठकमा उम्मेदवार छनोटका बाहेक निर्वाचन लक्षित सङ्गठन सुदृढीकरण र वर्तमान राजनीतिक परिस्थितिबारे समेत समीक्षा भइरहेको छ ।
जिल्ला कमिटीले सम्भव भएसम्म सर्वसम्मत, नभए आकाङ्क्षीहरूको नाम प्राथमिकताका आधारमा प्रदेश र केन्द्रमा सिफारिस गर्ने तयारी गरेको छ।





प्रतिक्रिया दिनुहोस्