Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


राष्ट्रपति मदुरोद्वारा आफूमाथि लगाइएका आरोपहरु अस्वीकार


0
Shares

एजेन्सी ।

अमेरिकाको नियन्त्रणमा रहनुभएका भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले आफूमाथि लगाइएका सबै आपराधिक आरोपहरूलाई अस्वीकार गर्नुभएको छ ।

अमेरिकाको न्युयोर्क म्यानहटन संघीय अदालतमा उपस्थित गराइएका मदुरोले आफू ‘निर्दोष’ रहेको बयान दिनुभएको हो ।

मदुरोविरुद्ध ‘नार्को–टेररिज्म’ अर्थात् लागूऔषध आतंकवादको षड्यन्त्र, मेसिनगन र विनाशकारी उपकरणहरू राखेकोलगायतका अभियोग लगाईएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार ६३ वर्षीय मदुरोले अदालतमा आफू भेनेजुएलाको निर्वाचित राष्ट्रपति भएको दाबी गर्नुभएको थियो । न्युयोर्कको संघीय अदालतले मदुरोको अर्को सुनुवाइका लागि आउँदो मार्च १७ तारिखको मिति तय गरेको छ ।

गत शनिवार अमेरिकाले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएको थियो । राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिने क्रममा मारिएका मध्ये करिब ३ दर्जन क्युवाका नागरिक पनि मारिएका थिए ।

क्युवा सरकारले मारिएका मध्ये ३२ जना आफ्ना नागरिक भएको र उनीहरु क्युबाली सशस्त्र तथा गुप्तचर निकाय सम्वद्ध अधिकारीहरु रहेको जनाएको हो ।

भेनेजुएला सरकारले भने आक्रमणका क्रममा कति मानिस मारिए भन्ने विषयमा अहिलेसम्म औपचारिक रुपमा केही पनि बताएको छैन । तर कम्तिमा ८० जना मारिएको हुनसक्ने अमेरिकी सञ्चार माध्यमहरुले बताएका छन् ।