Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


वीरगञ्जको अवस्था सामान्य बन्दै

सर्वपक्षीय बैठकमार्फत निषेधाज्ञा थप गर्ने वा हटाउने भन्ने बारेमा निर्णय गरिने

182
Shares

काठमाडौं । लगातार दुई दिनसम्म तनावग्रस्त बनेको वीरगञ्जको अवस्था सामान्य बन्दै गएको छ।

धनुषामा मस्जिदमा तोड्फोड गरिएको घटनालाई लिएर दुई समुदायले प्रदर्शन गरेपछि पर्साको वीरगञ्ज आइतबारदेखि नै अशान्त बनेको थियो। सोमबार दिउँसो १ बजेदेखि निषेधाज्ञा लगाइए पनि अवस्था पूर्णरूपमा नियन्त्रणमा आउन नसकेको भन्दै मंगलबार बिहान ८ बजेसम्म कर्फ्यू जारी गरिएको थियो। अहिले सबैतिरको अवस्था शान्त रहेको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयाे। केहीबेरपछि अवस्था हेरेर सर्वपक्षीय बैठकमार्फत निषेधाज्ञा थप गर्ने वा हटाउने भन्ने बारेमा निर्णय हुने उहाँले जानकारी दिनुभएकाे छ।

धनुषाको कमलमा-६ सखुवा मरानस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा गत शनिबार तोडफोड र मुस्लिम धर्मावलम्बीको ग्रन्थ कुरान जलाइएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। साेही विषयलाई वीरगञ्जमा पनि आइतबारदेखि दुई फरक समुदायले प्रदर्शन गर्दै आएकाे छ। सोमबार वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गरेर प्रदर्शन गर्ने दुवै समुदायका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।