Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


मादुरो दम्पती न्युयोर्क अदालतमा


1.3k
Shares

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई जबर्जस्ती पक्राउ गरी सोमबार, ५ जनवरीमा कडा सुरक्षा घेराबीच न्युयोर्कस्थित संघीय अदालतमा उपस्थित गराइएको छ ।

६३ वर्षीय मादुरोमाथि लागूऔषध तस्करी र आतंकवादसम्बन्धी गम्भीर अभियोग लगाइएको छ । अमेरिकी एलिट फोर्सले शनिबार, ३ जनवरीको बिहान हेलिकोप्टर र लडाकु विमानको सहयोगमा भेनेजुएलाको राजधानी काराकासमा सैन्य कारबाही गर्दै मादुरो दम्पतीलाई पक्राउ गरेको बताइएको छ ।

यस घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको कमान्ड अब अमेरिकाको नियन्त्रणमा रहेको दाबी गर्दै तत्काल चुनाव गराउनु हतारो हुने अभिव्यक्ति दिएका छन् ।

सैन्य कारबाहीका क्रममा काराकासमा ठूलो रक्तपात भएको भेनेजुएलाली अधिकारीहरूले बताएका छन् । रक्षामन्त्री भ्लादिमीर पाड्रिनो लोपेजका अनुसार अमेरिकी आक्रमणमा मादुरोको सुरक्षा टोलीका अधिकांश सदस्य, सैन्य कर्मचारी तथा सर्वसाधारण नागरिकहरू मारिएका छन् ।

यता, भेनेजुएलाको सेनाले कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजलाई मान्यता दिएको घोषणा गर्दै जनतालाई शान्ति कायम राख्न आग्रह गरेको छ । तर राजधानी काराकासमा तनाव कायमै रहेको छ । आइतबार, ४ जनवरीमा मादुरोका करिब २ हजार समर्थकले झण्डा र हतियार बोकेर र्‍याली निकाल्दै अमेरिकी कारबाहीको विरोध गरेका छन् ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाको प्राथमिकता अहिले भेनेजुएलाका तेल स्रोतहरूमा नियन्त्रण र सुरक्षा व्यवस्था सुदृढ गर्नेमा रहेको संकेत दिएका छन् । तत्काल सत्ता हस्तान्तरण अमेरिकाको मुख्य चासो नभएको उनको भनाइ छ ।