Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


प्रथम कायक च्याम्पियनसिपकाे उपाधि रञ्जन र रविनलाई


104
Shares

काठमाडौं ।
प्रथम कायक च्याम्पियनसिपको उपाधि रञ्जन कँडेल र रविन चेपाङले जितेका छन् ।

त्रिशुली नदीको फिस्लिङमा भएको च्याम्पियनसिपमा रञ्जनले बोर्डरक्रस र रविनले फ्रिस्टाइल विधामा पहिलो स्थान हात पारेका हुन् ।

रञ्जन केही समयअघि चीनको नुजियाङमा सम्पन्न एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपका कांस्य पदक विजेता खेलाडी पनि हुन् ।

हिमालय रिभर गाइड संघको कायोजनामा भएको च्याम्पियनसिपको बोर्डरक्रस विधामा मोहन राना दोस्रो, लक्ष्मण गुरुङ तेस्रो, सुमन थापा चौथो र सविन गुरुङ पाँचौं भएका थिए । यसैगरी फ्रिस्टाइल विधामा अमृत थापाले दोस्रो स्थान हासिल गरे भने मोहन राना तेस्रो स्थानमा रहे ।

यस विधाको ओभरल च्याम्पियन भने मोहन राना बन्न सफल भए । च्याम्पियनसिपमा स्वर्ण विजेतालाई १५ हजार, रजतलाई १० हजार र कांस्य पदक विजेतालाई पाँच हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

हिमालय रिभर गाइड संघका अध्यक्ष डोलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पदक विजेता खेलाडीलाई नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका श्रेष्ठले नेपालमा र्याफ्टिङ एन्ड क्यानोइङको विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले हालै चीनको नुजियाङमा भएको एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपमा नेपाली खेलाडीले हासिल गरेको सफलतामा यस्ता प्रतियोगिताले पनि ठूलो भूमिका खेलेको बताउँदै खेलाडीलाई निखार्न प्रतियोगिताहरु भइरहनु पर्नेमा जोड दिएका थिए ।