काठमाडौं । काठमाडौं उपत्यकासहित देशैभरीकाे तापक्रम घट्दाे क्रममा रहेकाे छ।
जल तथा मौसम विज्ञान विभागले पुसको पहिलो साता भन्दा दोस्रो र तेस्रो सातामा तापक्रम घटेको जनाएकाे हाे। त्यस्तै, काठमाडौं उपत्यकामा पनि तापक्रम क्रमशः घटिरहेको छ। देशका विभिन्न क्षेत्रमा आइतबार पनि न्यूनतम तापक्रम घटेको विभागले जनाएको हाे। उपत्यकामा आइतबार न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्रीमा झरेको छ । यो तापक्रम यो वर्षकै कम हो।
पुस ८ गते काठमाडौंको तापक्रम ४ दशमलव ९ डिग्री रेकर्ड गरिएको थियो। पुस १५ मा काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव८ डिग्रीमा झरेको थियो। पुस १७ गते तापक्रम घटेर ४ दशमलव ६ डिग्रीमा आएकामा आइतबार भने ४ दशमलव ५ डिग्रीमा झरेको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयाे।
विभागमा आइतबार राति अभिलेख गरिएको तापक्रमको विवरण अनुसार सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ९ डिग्री र मुस्ताङको जोमसोममा माइनस ४ दशमलव ५ डिग्री तापक्रम रहेको छ। त्यस क्षेत्रमा खोलासमेत जमिरहेका छन्।
अन्य जिलामा पनि न्यूनतम तापक्रम घट्दो क्रममा रहेको विभागले जनाएको छ। सूचना अधिकारी कायस्थका अनुसार न्यूनतम तापक्रम डडेलधुरामा २ दशमलव ७ , दिपायलमा ६, वीरेन्द्रनगरमा ५, घोराहीमा ८, पोखरामा ८ दशमलव ५, सिमरामा ८ दशमलव ३, ओखलढुङ्गामा ४ दशमलव ९, जिरीमा ० दशमलव२, ताप्लेजुङमा ५ दशमलव ८‚ लुम्लेमा ४ दशमलव ५ र धनकुटामा ७ डिग्री रहेको छ।
सूचना अधिकारी कायस्थलेले तराई क्षेत्रमा हुस्सु-कुहिरो र शीतलहर कायम रहेको र यो क्रम अझै जारी रहने बताउनुभयाे। उहाँका अनुसार हिमाली क्षेत्रमा केही ठाउँमा हिमपात भइरहेको छ।





प्रतिक्रिया दिनुहोस्