काठमाडाैं । झापामा सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले ५ महिनामा ४ करोड ७० लाख ९३ हजार ४ सय ९७ मूल्यको विद्युत बिक्री गरेको छ।
साेही कम्पनीले विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरेको हाे । आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा कम्पनीले ६५ लाख २१ हजार २६० युनिट विद्युत उत्पादन गरेको हो । शिवसताक्षी नगरपालिका-४ बुलुचोकमा झापा इनर्जीको १० मेगावाटको सौर्य विद्युत परियोजना सञ्चालनमा छ । झापा इनर्जीले उत्पादन गरेको विद्युत नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्दछ । इनर्जीले २०८० साल माघ १० गतेदेखि विद्युत्को व्यावसायिक उत्पादन गर्दै आएको छ। त्यसअघि २०७८ साल मङ्सिर १२ गते प्राधिकरणले इनर्जीसँग विद्युत खरिद बिक्रीको सम्झौता गरेको थियो ।
बुलुचोकमा २२ बिघा जग्गा खरिद गरेर इनर्जीले परियोजना निर्माण गरेको छ । परियोजनास्थलमा २१ हजार ६ सय वटा सौर्य प्यानल जडान गरिएका छन् । परियोजनाबाट उत्पादित सौर्य विद्युत्लाई एक किलोमिटरको दूरीभित्रै रहेको नेपाल विद्युत प्राधिकरणको बुलुचोक सबस्टेशनमा पुर्याएर राष्ट्रिय प्रसारण लाइनमा जोडएिको छ । झापा इनर्जीले आव २०८०/८१ मा ५ करोड २८ लाख ८४ हजार ७ सय ७७ मूल्यबराबरको सौर्य विद्युत उत्पादन गरी प्राधिकरणलाई बिक्री गरेको थियो ।
आर्थिक वर्ष २०८१/०८२ मा बिक्री बढेर ९ करोड १० लाख ५९ हजार ४ सय ७५ पुगेको कम्पनीले जनाएकाे छ।





प्रतिक्रिया दिनुहोस्