काठमाडौं ।
दक्षिण–पश्चिमी स्विट्जरल्याण्डको एक बारमा भीषण आगलागी हुँदा ४० जनाको मृत्यु भएको भएको छ ।
क्रान्स–मोन्टाना रिसोर्टमा घटेको यस घटनामा ११९ जना घाइते भएका छन् र उद्धारका लागि ठूलो संख्यामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । घाइतेमध्ये ११३ जनाको पहिचान खुलेको छ ।
वालेस क्यान्टनको क्रान्स–मोन्टाना स्की रिसोर्टमा रहेको ले कन्स्टेलेसन बारमा राति शुरु भएको आगलागीमा केही युरोपेली देशहरूले अझै पनि आफ्ना नागरिक हराइरहेको बताएका छन् । स्विस अधिकारीहरूले आगामी दिनमा मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।
बिहीवार स्थानीय समयअनुसार बिहान करिव १ः३० बजे आगलागी शुरु भएको केही मिनेटमै बारमा खतराको सूचना जारी गरिएको थियो । स्थानीय प्रहरीकाअनुसार घटनास्थलमा कुल ४१ वटा एम्बुलेन्स, १३ वटा हेलिकप्टर र १५० भन्दा बढी स्वास्थ्यकर्मीहरू परिचालन गरिएको थियो ।
स्विस महासंघका राष्ट्रपति गाय पारमेलिनले यो आगलागी देशको इतिहासकै सबैभन्दा खराब त्रासदीमध्ये एक भएको बताउनु भयो । ले कन्स्टेलेसन बार लक्जरी रिसोर्टका अन्य ठाउँहरूको तुलनामा सस्तो भएकाले आगलागीमा मृत्यु हुने र घाइते हुनेमा अधिकांश युवाहरू रहेका छन् ।
घाइतेहरूलाई शुरुमा वालेस क्यान्टनको राजधानी सियोनका साथै लाउजेन, जुरिच र जेनेभाका अस्पतालहरूमा भर्ना गरिएको थियो । पछि केहीलाई विदेशका अस्पतालमा पठाइएको थियो । स्विस मिडियाकाअनुसार फ्रान्सको स्ट्रासबर्गमा रहेको काउन्सिल अफ युरोपले ऐक्यवद्धता प्रकट गर्दै स्विस झण्डा आधा झुकाएको छ ।





प्रतिक्रिया दिनुहोस्