काठमाडाैं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ मा अघिल्लो वर्षको तुलनामा आर्थिक वृद्धिदर बढी हुने बताएको छ ।
अघिल्लो वर्षकोभन्दा आर्थिक क्रियाकलाप बढेकाले वृद्धिदर पनि औसतभन्दा बढी हुने नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले देखाएको हाे । गत आव। २०८१/८२ को ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’ सार्वजनिक गर्दै राष्ट्र बैंकले आव २०८२/८३ मा मुद्रास्फीतिको चाप कम रहको र विगत केही वर्षदेखि संकुचनमा रहेको निर्माण र उत्पादनमूलक उद्योग क्षेत्रलाई राष्ट्र बैंकले लिएको मौद्रिक सहजताका कारण विस्तार हुँदै गएकाले आर्थिक वृद्धि औसत भन्दा बढी हुने प्रतिवेदनमा उल्लेख छ।
चालु आवमा आर्थिक क्रियाकलाप अघिल्लो वर्षको तुलनामा सकारात्मक हुने अनुमान राष्ट्र बैंकले गरेकाे हाे।
राष्ट्रिय तथ्यांक कार्यालयकाअनुसार गत आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ४ दशमलव ६ प्रतिशत र प्रचलित मूल्यमा ४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत आवको कूल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५ दशमलव २, १२ दशमलव ८ र ६२ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको प्रतिवेदनमा उल्लेख छ । गत आवको मुलुकको कूल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबै भन्दा बढी ३६ दशमलव ५ प्रतिशत रहेको छ। कोशी प्रदेशको हिस्सा भने १५ दशमलव ९ प्रतिशत रहको हाे । कर्णाली प्रदेशको हिस्सा भने सबै भन्दा कम ४ दशमलव २ प्रतिशत रहेको छ।
गत आवमा अध्ययनमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४४ दशमलव ५ प्रतिशत रहेको जनाएको छ । २०८०/८१ मा यस्तो क्षमता उपयोग ४८ दशमलव ३ प्रतिशत रहेको थियो । २०८२ साल असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरको कूल कर्जामा औद्योगिक क्षेत्र कर्जाको अंश ३० दशमलव ४२ प्रतिशत रहेको छ।
राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा औसत कर्जा-निक्षेप अनुपात ७६ दशमलव ६ प्रतिशत रहेको हाे । बैंक तथा वित्तीय संस्थाको कूल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश उच्च रहेको छ। कूल निक्षेपमा यस प्रदेशको अंश ६५ दशमलव ८ प्रतिशत र कूल कर्जामा ५९ दशमलव ५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएकाे छ।





प्रतिक्रिया दिनुहोस्