Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


विश्वको चौथो ठुलो अर्थतन्त्र भएको मुलुक बन्यो भारत


1.5k
Shares

काठमाडौं ।
जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभिन पुगेको छ ।

सरकारी आर्थिक ब्रिफिङ नोटअनुसार ४१ खर्ब ८० अर्ब डलरको कुल गार्हस्थ्य उत्पादनसहित भारतले जापानलाई उछिन्दै चौथो स्थानमा प्रवेश गरेको हो ।

अहिलेको आधिकारिक स्थिति सन् २०२६ मा वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) तथ्याङ्क सार्वजनिक भएपछि मात्र पक्का हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पनि भारतको अर्थतन्त्रले अर्को वर्ष जापानलाई पार गर्ने अनुमान गरेको छ ।

सरकारको वर्षको अन्त्यको आर्थिक समीक्षाले यस वृद्धिलाई पुष्टि गरेको छ । आगामी साढे दुई–तीन वर्षमा जर्मनीलाई तेस्रो स्थानमा सार्ने सम्भावना छ । भारतको जिडिपी सन् २०३० सम्ममा ७३ खर्ब डलर पुग्ने अनुमान गरिएको छ । सन् २०२६ मा आइएमएफले जापानको जिडिपी ४४ खर्ब ६० अर्ब डलर र भारतको ४५ खर्ब १० अर्ब डलर हुने अनुमान गरेको छ । अगस्टमा वासिङ्टनले भारतको रुसी तेल खरिदमा भन्सार शुल्क लगाए पनि नयाँदिल्लीले आफ्नो विकास गतिलाई कायम राखेको देखाएको छ ।

सरकारले यसलाई ‘विश्वव्यापी व्यापार अनिश्चितताबीचको लचिलोपन’ को सङ्केतका रूपमा व्याख्या गरेको छ ।
विश्व बैंकको तथ्याङ्कअनुसार सन् २०२४ मा भारतको प्रतिव्यक्ति जिडिपी दुई हजार ६९४ डलर मात्र थियो । यो जापानको ३२ हजार ४८७ डलर र जर्मनीको ५६ हजार १०३ डलरभन्दा निकै कम छ ।

आइएमएफका अनुसार सन् २०२२ मा भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बनेको थियो । सो वर्ष भारतले बेलायतलाई पार गर्दै ऐतिहासिक रूपमा महत्त्त्वपूर्ण प्रगति हासिल गरेको थियो ।