काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।
काठमाडाैंमा बुधबार महासंघले आयोजना गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य, सामूहिक पहल कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। लगानीको वातावरण नबनेको बताउदै उहाँले सरकारलाई वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँका अनुसार समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको विषय भने अझै पनि ओझेलमा परेको छ । निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको सकेको छैन । उहाँले गलत काम गर्नेहरुमाथि कारबाही नहुँदा दण्डहीनता मौलाउँदै जाने हो कि भन्ने आशंका बढेको बताउनुभयो ।
उहाँका अनुसार उद्यमी र उद्यमशीलता विकासका लागि सहज नीतिगत व्यवस्था, निजी क्षेत्रको सम्मान, निर्वाध पेशा व्यवसाय गर्न पाउने सुनिश्चितता र सम्पत्तिको सुरक्षा महशुस नगर्दासम्म मुलुकमा लगानी हुँदैन । लगानी नभइ रोजगारी हुँदैन । रोजगारी नभइ आयस्तरमा सुधार हुँदैन । आयस्तर बढ्न सकेन भने मानव बिकासमा अपेक्षाकृत सुधार पनि हुन सक्दैन । शिक्षा र स्वास्थ्य सर्वसुलभ बनाउन राजश्व बढ्नु पर्छ । राजश्व बढन निजी क्षेत्रले काम गर्न पाउने वातावरण र काम गर्न प्रोत्साहित गरिने नीति आवश्यक छ ।
अध्यक्ष ढकालले आफूहरुले राजनीति प्रतिवद्धता चाहेको बताउनुभयो । राजनीतिक स्थायित्वका लागि निर्वाचन गरी लोकतन्त्र संस्थागत गर्न जरुरी रहेको उहाँकाे भनाइ छ। उहाँका अनुसार यदि निजी क्षेत्रलाई सुरक्षित र सम्मानित भै काम गर्न नदिए सफल हुन सकिंदैन । यदि निजी क्षेत्र असफल भए त्यो असफलतामा मात्रै सीमित नरहेर आउने पुस्तामा पनि असफलतामा जानेछ। उहाँले नेपालको राजनीतिमा ७५ वर्षमा आधा दर्जन बढी निर्णायक र परिवर्तनकारी राजनीतिक आन्दोलन भएपनि समयानुकूल सर्वसाधारणको जीविकामा अपेक्षाकृत सुधार हुन नसकेको समेत बताउनुभयो ।
अध्यक्ष ढकालले निर्धारित समयमै निर्वाचन होस् र स्थायित्व कायम होस् भन्ने निजी क्षेत्रको चाहना रहेको समेत बताउनुभयो । उहाँका अनुसार यो वा त्यो बहानामा आगामी दिनमा निजी क्षेत्रमाथि आक्रमण हुने वातावरण कहीं कतैबाट सिर्जना हुनुहुँदैन । मुलुकमा दण्डहीनताले प्रश्रय पाउनु हुँदैन । निर्वाध पेशा व्यवसाय गरी खान पाउने सबैको नैसर्गिक अधिकार भएकाले उहाँको भनाइ छ।





प्रतिक्रिया दिनुहोस्