Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


आगामी माघमा निर्वाचन गर्ने एन्फाकाे निर्णय


143
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठकबाट समय अगावै निर्वाचन (अर्ली इलेक्सन) मा जाने निर्णय भएको छ ।

आगामी माघ २८ गते निर्वाचन गर्ने निर्णय भएको एक सदस्यले जानकारी दिएका हुन् । २०७९ साल असारमा निर्वाचित भएको एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल २०८३ साल असार ६ गतेसम्म रहेकाे छ । एन्फा विधानअनुसार प्रतिकूल अवस्थामा बढीमा ६ महिना थप गर्न मिल्ने व्यवस्था रहेकाे छ ।

तर एन्फाले भने फिफा विश्वकपलाई लक्षित गर्दै अर्ली इलेक्सन गर्ने निर्णय गरेको हो । वर्तमान कार्यसमितिको ४ वर्षे कार्यकाल नसकिँदै निर्वाचन मिति प्रस्ताव गर्नु ठिक नहुने प्रतिपक्षीहरुको भनाइबीच उक्त निर्णय गरिएको हो । एन्फा कार्यसमितिकै केही पदाधिकारीले जिल्ला र प्रदेशको निर्वाचन नभएको अवस्थामा ४ वर्षे कार्यकाल सकिएपछि मात्रै निर्वाचन गर्न प्रस्ताव राखेका थिए ।

तर एन्फा नेतृत्वले बहुमतको आधारमा अर्ली ईलेक्सनमा जाने निर्णय गरेको हो ।