काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६४ वटा राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् ।
निर्वाचन आयोगका अनुसार बन्दसूची बुझाउनेमध्ये ५४ वटा दलले आ–आफ्नै निर्वाचन चिह्नमा र १० वटा दलले चारवटा साझा ९एकल० चुनाव चिह्नमार्फत निर्वाचनमा सहभागी हुने गरी सूची दर्ता गरेका हुन् ।
संविधानअनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित हुने व्यवस्था छ । यसैबीच, आयोगले आगामी माघ ११ गते तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले पेस गर्नुपर्ने कागजातहरूको विवरण सार्वजनिक गरेको छ । आयोगका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावली ऐन २०७३ अनुसार सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको प्रमाण पेस गर्नुपर्नेछ ।
त्यसैगरी १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर अनिवार्य गरिएको छ । महिला, दलित, अल्पसंख्यक समुदाय तथा आर्थिक रूपमा विपन्न उम्मेदवारका हकमा धरौटी रकममा ५० प्रतिशत छुट दिइनेछ । आर्थिक रूपमा विपन्न उम्मेदवारले स्थानीय तहको सिफारिस पत्र समेत पेस गर्नुपर्नेछ ।
उम्मेदवारले मतदाता नम्बर, सम्पत्ति विवरण, घर तथा जग्गासम्बन्धी विवरण, संघीय कानुनअनुसार अयोग्य नभएको स्वघोषणापत्र, कुनै लाभको पदमा नरहेको तथा पदमा भए राजीनामा दिएको प्रमाण पनि बुझाउनुपर्नेछ । साथै उम्मेदवार स्वयं वा निजका प्रतिनिधि, प्रस्तावक वा समर्थकद्वारा हस्ताक्षर गरिएको मनोनयन पत्र अनिवार्य गरिएको छ ।
यसका अतिरिक्त, २०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ बन्दसूचीमा परेका उम्मेदवारले फिर्ता लिएको सम्बन्धी कागजात पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ । प्रस्तावक र समर्थकको नाम सम्बन्धित प्रदेशसभा सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिका अध्यक्षरउपाध्यक्ष तथा नगरपालिकाका प्रमुखरउपप्रमुख रहेको मतदाता नामावलीमा समावेश भएको प्रमाण पनि अनिवार्य गरिएको छ ।
निर्वाचन आयोगले तयारी स्वरूप सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ भने आवश्यक निर्वाचन कार्यालयसमेत सञ्चालनमा ल्याइसकेको छ । यता, राजनीतिक दलहरूले उम्मेदवार छनोट प्रक्रिया तीव्र बनाएका छन् ।





प्रतिक्रिया दिनुहोस्