Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


वैकल्पिक शक्ति एकजुट हुँदा पुराना ठूला दललाई झड्का (भिडियाे रिपाेर्ट)

कांग्रेस र एमालेकाे बराबरी सिट बाँडफाँड गरेर आगामी निर्वाचनमा सँगै जाने याेजना

1.1k
Shares

काठमाडाैं। नयाँ राजनीतिक शक्तिहरुबीचको एकताले पुराना प्रमुख दलहरुलाई झस्काएको छ ।

निर्वाचन आयोगमा समानुपातिकतर्फको उम्मेदवारी दर्ता गराउने अन्तिम दिन वैकल्पिक शक्तिका चर्चित अनुहारहरु रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ एउटै पार्टीमा उभिने अवस्था बन्दा विघटित संसदका ठूला दलका शीर्ष नेताहरु झस्किएका हुन् । वैकल्पिक शक्तिहरुको एकतालाई नजर-अन्दाज गरेको बहाना गर्दागर्दै पनि उनीहरु आगामी चुनावमा सिट बाँडफाँड गर्न सकिने समेत भन्न थालेका छन् ।

कुनै पनि हालतमा निर्वाचन नहुने र प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने भन्दै आएको नेकपा एमाले पछिल्लो समय निर्वाचनप्रति सकारात्मक हुन थालेको छ। तर नयाँ शक्तिहरु एकजुट हुन थालेपछि भने एमालेमा नयाँ खालको चिन्ता बढ्ने देखिएको छ । त्यो विषय एमालेका उपाध्यक्ष रामबहादुर थापाले नेपाली कांग्रेस र एमाले बराबरी सिट बाँडेर चुनावमा भाग लिनुपर्ने भनाइले पनि पुष्टि गर्दछ । साेही अभिव्यक्ति एमालेका उपाध्यक्ष रामबहादुर थापा बताउनुभएकाे छ।

त्यसो त नेपाली कांग्रेस पनि रवि, बालेन र कुलमानको एकीकरणप्रति तर्सिएको बुझ्न कठीन छैन । एमालेकै लयमा लय मिलाउँदै कांग्रेस नेता मिनबहादुर विश्वकर्मा पनि नयाँ शक्तिहरुबीचको एकताकाे बारेमा आक्रामक रुपमा प्रस्तुत हुनुभएकाे छ। उता, जेनजी आन्दोलनपछि जेनजी र वैकल्पिक शक्तिहरुसँग मिलेर जाने भन्दै आएका नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहाल पनि पछिल्लो राजनीतिक घटनाक्रमबाट डराएको हो कि भन्ने देखिएको हाे। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालाे नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको विषयमा टिप्पणी गर्दै दाहालले सामाजिक सञ्जाल र शहर बजारमा देश इतिहास र निष्ठाविहीनहरुले कब्जा नै गरिसकेको भ्रम फैलाएको नेकपाका संयाेजक पुष्पकमल दाहालकाे भनाइ छ।

एमाले उपाध्यक्ष समेत रहेका थापाले कांग्रेससँग बराबरी सिट बाँडेर जान सकिने प्रस्ताव गरेकै दिन एमाले अध्यक्ष ओलीले भने रवि, बालेन र कुलमानको एकतालाई कुखुरा, बाख्रा र स्यालहरुको गठजोड भन्दै खिसिट्युरी गर्नुभएकाे छ । पुराना र ठूला भनिएका दलका नेताहरुका यस्ता प्रतिक्रियाले उनीहरु वैकल्पिक शक्तिहरु एकजुट भएकोमा खुशी छैनन भन्ने स्पष्ट सन्देश दिएको छ । तर समानुपातिक उम्मेदवारतर्फको सूची समेत बुझाईसकेकाले उनीहरुका लागि अब चुनावबाट भाग्ने ठाउँ पनि छैन ।

तसर्थ जतिसुकै संशय र आशंकाकाबीच पनि चुनावमा जान उनीहरु बाध्य बन्ने देखिएको छ।

भिडियाे रिपाेर्ट: