काठमाडाैं। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले असन्तुष्टि जनाउने नाममा ढुंगामुढा, आगजनी र तोड्फोड गर्ने अभ्यासलाई सुधार गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडाैंमा मंगलबार जेनजी आन्दोलनको क्रममा आगजानी भएको कोटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभाग पुनःनिर्मित भवन हस्तान्तरण कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजमा सहयोगी मनको विकास भएमा अपराध नियन्त्रण, विकास र शान्ति सम्भव हुने बताउनुभयो । महानिरीक्षक कार्कीले नागरिकको सहयोगका कारण प्रहरी भवन निर्माण गर्न सफल भएको बताउनुभएकाे छ । उहाँले सहयोगी नागरिककै कारण सवारी साधन प्राप्त भएको तथा अपराधविरुद्धका सूचनाहरु प्राप्त भइरहेको बताउनुभयो । उहाँले कोही पनि मानिस अयोग्य नहुने भन्दै असल संगत र सहयोग पाए सबै मानिस सकारात्मक बन्नसक्ने बताउनुभएकाे छ ।
महानिरीक्षक कार्कीले असल संगतको लागि समाज पनि तयार हुँदै गएको समेत बताउनुभयाे। उहाँले नेपाललाई हिंसा, आगजनी र आफ्नै सम्पदा नष्ट गर्ने मुलुकका रूपमा नभई शान्ति-प्रेमी, विकासप्रेमी, कानून पालना गर्ने र समानतामा विश्वास गर्ने नागरिक भएको देशका रूपमा विश्वमा चिनाउनुपर्ने बताउनुभएकाे छ। भावी पुस्तालाई कस्तो समाज हस्तान्तरण गर्ने भन्ने आजको गम्भिर प्रश्न खडा भएकाे उहाँको भनाइ छ। विभाजन, झगडा र हिंसाले भरिएको समाजले सन्तानको सुरक्षा-भविष्य सुनिश्चित गर्न नसक्ने उहाँले बताउनुभयो । सुरक्षित भविष्यका लागि अहिलेको पुस्ताले थप जिम्मेवारी लिनुपर्नेमा उहाँले जोड दिनुभएकाे छ।
महानिरीक्षक कार्कीले जेनजी आन्दोलनका क्रममा लुटिएका अधिकांश हतियार नागरिकको सहयोगमा फिर्ता भइसकेको बताउनुभयो । साथै आन्दोलनका क्रममा बदमासी गर्नेहरु पनि क्रमशः कानूनी दायरामा आइसकेको उहाँले जानकारी दिनुभएकाे छ। उहाँले ड्युटीका क्रममा ज्यान गुमाएका स्वर्गीय सहायक हवलदार अमृत गुरुङकी धर्मपत्नी कान्ति गुरुङलाई नेपाल प्रहरीमा करार सेवामा रोजगारी दिने पनि बताउनुभयो ।






प्रतिक्रिया दिनुहोस्