Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


कांग्रेस निर्वाचनबाट भाग्दैन, बरू हार्न तयार छः नेता कोइराला

सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको टिप्पणी

273
Shares

काठमाडाैं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको टिप्पणी गर्नुभएको छ।

काठमाडौंमा मंगलबार मोरङ समाज काठमाडौंको २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले मुलुकमा निर्वाचन हुने अवस्था बने-नबनेको विषय गम्भीर प्रश्नको रूपमा उभिएको बताउनुभएको हो । सबै राजनीतिक दलहरुले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन भन्ने अहम प्रश्न रहेको उहाँको भनाइ छ। उहाँले कांग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै उहाँले सरकारले त्यसको लागि वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले निर्वाचनमा शान्ति–सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी प्रहरी प्रशासनको भएको उल्लेख गर्दै हाल प्रहरीको मनोबल अत्यन्त खस्किएको बताउनुभएकाे छ। सेनाले निर्वाचन गराउँदैन भन्नेकुरा सबैले बुझ्न जरुरी रहेको पनि उहाँको भनाइ छ । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनको स्मरण गराउँदै गम्भीर अपराधका कैदीहरु फरार र हजारौं हातहतियार समेत समाजमा रहेको भन्दै यहि अवस्थामा भयरहित वातावरणमा निर्वाचन हुनेमा उहाँले शंका व्यक्त गर्नुभयो।

नेता कोइरालाले गत २३ भदौमा भएको जेनजी आन्दोलनमाथि प्रहरी दमनको जति निन्दा गरेता पनि कम हुने बताउनुभयो । यद्यपि २४ भदौमा भएको विध्वंशलाई सामान्य रुपमा हेर्न नहुने उहाँको भनाइ छ । उहाँले मुख्य प्रशासनिक भवन सिंहदरबारदेखि प्रादेशिक तहका संरचना र नेताका निवासहरु समेत तहसनहस पारिएको उल्लेख गर्नुभयाे। उहाँले जेनजीले मात्रै ६ घण्टामा मुलुकलाई खरानी बनाउन नसक्ने टिप्पणी गर्नुभएकाे छ। यो सब काँग्रेस–एमालेको सरकार हटाउनको लागि मात्र हो त भन्दै उहाँले प्रश्न समेत गर्नुभएकाे छ।

नेता काेइरालाले संसद पुनःस्थापना गरेर समेत अहिले समस्याहरुको निकाश निस्कन नसक्ने जिकिर गर्नुभयो ।