Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


काठमाडौंमा चिसो बढ्यो, आज यो वर्षकै कम तापक्रम


780
Shares

काठमाडौं । देशभर तापक्रम क्रमिक रूपमा घट्दै गएको छ । काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा चिसो बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन गरिएको छ । यस वर्ष काठमाडौंमा मापन गरिएको यो अहिलेसम्मकै कम तापक्रम हो । महाशाखाका अनुसार आउँदा दिनहरूमा तापक्रम अझै घट्ने सम्भावना रहेको छ ।

यसअघि सोमबार (पुस १४) काठमाडौंको न्यूनतम तापक्रम ५.२ डिग्री र आइतबार (पुस १३) ५.४ डिग्री सेल्सियस थियो । पुस ८ गते भने न्यूनतम तापक्रम ४.९ डिग्री मापन गरिएको थियो ।

मंगलबार बिहान सार्वजनिक गरिएको १७ स्थानको विवरणअनुसार जुम्लामा सबैभन्दा कम न्यूनतम तापक्रम –४.५ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । जुम्लामा सोमबार –५.५ र आइतबार –४.६ डिग्री तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ ।

त्यस्तै, ओलखढुंगामा ४.६, दिपायलमा ५.२, ताप्लेजुङमा ५.७, धनकुटामा ७.८, डडेलधुरामा ७.९, वीरेन्द्रनगरमा ८.३ र घोराहीमा ८.४ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको छ ।

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । तराईका भू-भागमा हुस्सु तथा कुहिरोको प्रभावका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी पनि महाशाखाले दिएको छ ।