Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


निर्वाचन आयोगमा ६३ दलले बुझाए समानुपातिक बन्दसूची


754
Shares

काठमाडौं ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ राजनीतिक दलले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएका छन्।

निर्वाचन आयोगका अनुसार नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत विभिन्न ठूला तथा साना दलहरूले समानुपातिकतर्फको उम्मेदवार बन्दसूची दर्ता गराइसकेका छन्।

बन्दसूची बुझाउने दलहरूमा नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल), गतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी तथा समावेशी समाजवादी पार्टी नेपाल पनि रहेका छन्।

यसैगरी नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, उन्नत लोकतन्त्र पार्टीलगायत अन्य दलहरूले पनि समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाएका छन्।

अब निर्वाचन आयोगमा बन्दसूची बुझाउन नेपाली कांग्रेस मात्रै बाँकी रहेको छ। कांग्रेसले बन्दसूची बुझाएपछि समानुपातिकतर्फ बन्दसूची पेश गर्ने दलको संख्या ६४ पुग्नेछ। पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरका लागि महाराजगन्ज पुगेका कांग्रेस मुख्यसचिव कृष्ण पौडेल र प्रचार विभाग प्रमुख मीन विश्वकर्मा आयोग फर्किन बाँकी रहेकाले कांग्रेसको बन्दसूची अझै बुझ्न नसकिएको बताइएको छ। आयोग कांग्रेसको सूचीको प्रतीक्षामा रहेको छ।

समानुपातिकतर्फ ६४ दलले उम्मेदवारी दिए पनि आयोगले ५८ वटा मात्रै चुनाव चिह्न प्रदान गरेको जनाएको छ। केही दल संयुक्त चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा सहभागी हुने भएका छन्।