काठमाडौं ।
गाजा पट्टीमा आएको भीषण आँधीका कारण एक बालक र एक महिलाको मृत्यु भएको सो क्षेत्रको नागरिक रक्षा निकायले घोषणा गरेको छ ।
निकायका प्रवक्ता महमुद बासलले एक प्रेस विज्ञप्तिमार्फत भारी हावाहुरी र वर्षाका क्रममा सात वर्षीय बालकको इनारमा खसेर र ३० वर्षीया महिलाको पर्खाल भत्किँदा मृत्यु भएको जानकारी दिनुभयो ।
बासलकाअनुसार नागरिक रक्षा टोलीले वर्षाको पानीले भरिएका दर्जनौं पालहरूमा उद्धार कार्य गर्दै बासिन्दाहरूलाई पानी बाहिर फाल्न र नाला सफा गर्न सहयोग गरिरहेका छन् ।
मध्य गाजाको देइर अल–बलाहका मेयर निजार अयाशले सहरका अधिकांश विस्थापित शिविरहरू हिलोको दलदलमा परिणत भएको र नगरपालिकामा पर्याप्त सहयोग उपलब्ध गराउन स्रोत र उपकरणको अभाव रहेको बताउनु भयो ।
क्षेत्रको आपतकालीन सञ्चालन कक्षले गाजा पट्टीमा विस्थापित परिवारहरूलाई सुरक्षित आश्रय दिन तत्काल करिव २० लाख प्रिफ्याब्रिकेटेड आवास एकाइहरूको आवश्यकता रहेको जनाएकाे छ ।
एजेन्सीले आँधीले कमजोर पालहरू नष्ट गरेको र क्षतिग्रस्त घरहरू आंशिक रूपमा भत्किएकाले चिसो मौसममा बासिन्दाहरू गम्भीर जोखिममा रहेकाे चेतावनी दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्