Logo १४ पुस २०८२, सोमबार | Mon Dec 29 2025


डा. राजु बैठा नेकपाबाट समानुपातिक सांसदका लागि सिफारिस


130
Shares

वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिका वडा नं. २३ सबैठवा निवासी डा. राजु बैठा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा क्षेत्र नं. २ बाट समानुपातिक सांसदको उम्मेदवारको रूपमा सिफारिस भएका छन्।

डा. बैठा बुबा भागीरथ बैठा र आमा रामदुलारी देवीका तीन सन्तानमध्ये जेठा सन्तान हुन् । उनी आफ्नो परिवारमा पहिलो व्यक्ति हुन् जसले प्राथमिक शिक्षा (कक्षा ५) देखि माध्यमिक शिक्षा (कक्षा ८, १०) पूरा गरे । त्यसपछि उनले हरिखेतान बहुमुखी क्याम्पसबाट प्लस टु, ठाकुरराम बहुमुखी क्याम्पसबाट अंग्रेजीमा स्नातक (बिएड), ठाकुररामबाटै अंग्रेजीमा स्नातकोत्तर (एमएड) र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रबाट एमए अध्ययन गरे ।

उनको अध्ययनप्रतिको यात्रा यतिमै सिमित भएन । समाजमा पछि परेका वा पारिएका दलित समुदायमा जन्मिएका बैठाले ‘अनपढका सन्तान’ शब्द धेरै पटक सुन्नुपरेको थियो । त्यहीदिनदेखि उनले अध्ययनको उच्चतम तहसम्म अध्ययन गर्ने अठोट गरेका थिए । सोही बमोजिम उनले रिमिक विश्वविद्यालय, पञ्जाबबाट विद्यावारिधि (पिएचडी) पनि पूरा गरे ।

राजनीतिमा पनि डा. बैठा अडिग र स्पष्टवक्ता हुन् । उनी नेकपा माओवादी केन्द्रमा २०५८ सालदेखि सक्रिय छन् । यस अवधिमा उनले अखिल क्रान्तिकारी, जिल्ला समिति सदस्य, तत्कालिन वीरगञ्ज उपमहानगर कमिटीका नगर अध्यक्ष, मधेसी राष्ट्रिय मुक्तिमोर्चा र अन्य सहायक संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । हाल उनी पर्सा जिल्ला कमिटी सदस्य र वीरगञ्ज महानगरपालिकाका उपाध्यक्षको रूपमा पार्टी र जनताको सेवामा सक्रिय छन् ।

डा. बैठा दलित र सीमान्तकृत समुदायको अधिकार र समावेशिताका लागि निरन्तर संघर्षरत छन् । आफ्नो पार्टी भित्र पनि असल र गलत प्रवृतिको भेदभाव नभएको सुनिश्चित गर्न उनी स्पष्ट विरोध गर्न सक्ने साहस राख्छन् । उनी निर्णयमा अडिग, विचारमा तर्कसंगत र कार्यमा प्रतिबद्ध नेता हुन् ।

पर्सा क्षेत्र नं. २ बाट समानुपातिक सांसदको उम्मेदवारको रूपमा डा. राजु बैठाको नाम नेकपा माओवादी केन्द्रले सिफारिस गर्दा पार्टीका इन्चार्ज विजय महतो थारु, जिल्ला संयोजक रामदरस कुशवाहा, तत्कालिन नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापा, सह–इन्चार्ज मनोज चौधरी, जसपाका केन्द्रीय सदस्य सत्यनारायण रौनियार लगायत नेताहरूको हस्ताक्षर रहेको छ ।

डा. बैठाले आफ्नो शिक्षा र अनुभवलाई समाज सेवा र असल समाज निर्माणमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । ज्ञान र शिक्षा व्यक्तिगत विकासको साधन मात्र नभई समाज परिवर्तनको शक्तिशाली औजार भएको उनको बुझाइ छ ।