Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


नेता तथा कार्यकर्तामाथिको कारबाही फुकुवा गर्ने कांग्रेसकाे निर्णय (पत्रसहित)

मातहतका सबै निकायलाई निर्णय कार्यान्वयन गर्न निर्देशन

299
Shares

काठमाडौं । नेपाली कांग्रेसले विगतका विभिन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका र असहयोग गरेका नेता तथा कार्यकर्तामाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको शनिबारकाे बैठकले यस्ताे निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभएकाे हाे। उहाँले आइतबार मातहतका सबै निकायलाई परिपत्र गर्दै कार्यान्वयन गर्न निर्देशन समेत दिनुभएकाे हाे।

‘परिपत्रमा विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक तथा असहयोग गरी अनुशासनविपरीतका काम गरेकाले कारबाहीमा फरेकाहरूलाई माफी दिने निर्णय गरेकोले कार्यान्वयन गर्न आग्रह गरिएको छ।’ निर्णयमा कारबाही माफी पाएका व्यक्तिहरूको पार्टीमा पहिले बहाल रहेको पद तत्काल फिर्ता नहुने तर ‘क्रियाशील सदस्यता’ नवीकरण गर्न पाउने उल्लेख गरिएकाे छ।

बैठकले पार्टी परित्याग गरी स्वतन्त्र बसेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेकालाई पुनः कांग्रेसमै फर्कन हार्दिक आह्वान गर्दै फर्किनेलाई पार्टीले क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको परिपत्रमा उल्लेख गरिएको छ।