Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


काठमाडाैंमा एभरेस्ट समिटियर्स समिटकाे आयाेजना हुने


117
Shares

काठमाडाैं। एभरेस्ट एलायन्स नेपालले दोस्रो संस्करणको एभरेस्ट समिटियर्स समिट आयोजना गर्ने घोषणा गरेको छ ।

एभरेस्ट एलायन्सले आइतबार पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर सन् २०२६ मे २७ तारिखमा काठमाडौंमा समिट गर्न लागेको जानकारी दिएको हो । उक्त समिट तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीद्वारा गरिएको सगरमाथाको ऐतिहासिक पहिलो आरोहणको स्मरणमा समर्पित रहने एभरेस्ट एलायन्स नेपालकी अध्यक्ष श्रद्धा क्षेत्रीले बताउनुभयो । दिगो भविष्यको लागि हिमालयन इनोभेसन भन्ने नाराका आयोजना हुने समिटमा विश्वभरका सगरमाथा आरोही, नीति निर्माता, पर्वतारोहण संस्थाका प्रतिनिधि,संरक्षण अभियन्ता, पर्यटन व्यवसायी, अनुसन्धानकर्ता तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहभागिता रहनेछ ।

समिटले पर्वतारोहणको ऐतिहासिक धरोहर, आरोहीको सुरक्षा, जलवायु परिवर्तन, दिगो हिमाली पर्यटन तथा भविष्यका चुनौतीकाे बारेमा उच्चस्तरीय संवादको मञ्च प्रदान गर्ने अध्यक्ष क्षेत्रीले बताउनुभयो । समिटलाई केवल स्मरण समारोहमा सिमित नराखी सगरमाथा आरोहीहरूको सम्मान, प्रत्यक्ष आरोहण अनुभवहरूको संरक्षण, अन्तर्राष्ट्रिय सहकार्य प्रवद्र्धन तथा नैतिक र समुदाय–केन्द्रित पर्वतीय पर्यटनको विकासमा केन्द्रित गरिने उहाँले बताउनुभएकाे छ।

अध्यक्ष क्षेत्रीका अनुसार समिटमा हिमनदी पग्लिने समस्या, फोहोर व्यवस्थापन, आरोहीहरूको समृद्धि, अभियान सुरक्षा तथा पर्वतारोहणसम्बन्धी नीतिगत सुधार जस्ता उच्च हिमाली क्षेत्रका ज्वलन्त विषयमा छलफल गरिनेछ । समिटका सत्रहरू सगरमाथा आरोही, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ र संस्थागत नेतृत्वद्वारा सञ्चालन गरिने भएकाे हाे । एभरेस्ट एलायन्स नेपालले समिटलाई मानव सहनशीलता, सहकार्य र प्रकृतिप्रतिको सम्मानको प्रतीकका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। समिटलाई सफल बनाउन सहकार्य गर्न आयोजकले आह्वान समेत गरेको हाे ।

समिटमा सहभागिताका दर्ता प्रक्रिया खुला गरिएको जानकारी पनि दिइएको छ।