Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


नेपाल गम्भीर भू-राजनीतिक दबाब र हस्तक्षेपको घेरामा फस्याे: अध्यक्ष लिङ्देन


286
Shares

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल गम्भीर भूराजनीतिक दबाब र हस्तक्षेपको घेरामा फसेको बताउनुभएकाे छ।

राप्रपा मोरङको जिल्ला अधिवेशन उद्घाटन गर्दै आइतबार उहाँले नेपाल अहिले सामान्य राजनीतिक संक्रमणमा मात्रै नरहेको बताउनुभएकाे हाे। उहाँले नेपालमा बाह्य शक्तिहरूको प्रभाव तीव्र हुँदै गएको र संवेदनशील अवस्थामा पुगेको बताउनुभयाे। अध्यक्ष लिङ्देनले नेपालको निर्णय क्षमता नेपाली जनताको हातबाट बाहिरिँदै गएको दावी गर्नुभएकाे छ। विदेशी शक्तिहरूले कसलाई जिताउने र कसलाई प्रधानमन्त्री बनाउने भन्ने दाउपेच शुरु भइसकेको उहाँकाे तर्क छ। नेपालमा यसको संकेत स्पष्ट रूपमा देखिएको समेत उहाँकाे भनाइ छ।

अध्यक्ष लिङ्देनले आगामी फागुन २१ गते तोकिएको चुनावले समस्याको समाधान नगर्ने र देशमा झन् बरबादी हुने समेत बताउनुभयाे। देश अनिश्चितताको दिशातर्फ धकेलिएको र सहमति बिनाको चुनावले देश झन् अस्थिर बन्दै जाने उहाँकाे तर्क छ । उहाँले राजसंस्था,हिन्दु राष्ट्र र संघीयता खारेजीको पक्षमा उभिएका सबै शक्तिहरूलाई राप्रपामा गोलबन्द हुन समेत आह्वान गर्नुभयाे।

केन्द्रदेखि स्थानीय तहसम्म पार्टीलाई एकढिक्का बनाउने अभियान शुरु भइसकेको बताउँदै उहाँले राष्ट्रिय एजेन्डामा एकजुट भए मात्र देशले सही दिशा लिन सक्ने समेत बताउनुभएकाे छ।