एजेन्सी। म्यान्मारमा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो पटक आयोजना गरिएको आम निर्वाचनको प्रारम्भिक चरण अन्तर्गत आइतबार मतदान जारी रहेकाे छ ।
तर देशका अधिकांश भागमा गृहयुद्ध जारी रहेकाले यो निर्वाचन शुरुदेखि नै विवादको घेरामा परेको हाे । तीन चरणमा हुने यो निर्वाचनको अन्तिम परिणाम जनवरीमा थप दुई चरणको मतदान सम्पन्न भएपछि मात्र स्पष्ट हुने भएकाे छ। पहिलो चरणमा देशका ३ सय ३० मध्ये १ सय २ स्थानमा मतदान भइरहेको छ। दोस्रो चरण आगामी जनवरी ११ र तेस्रो चरण जनवरी २५ तारिखमा हुने तय भएको छ । निर्वाचनको अन्तिम नतिजा फेब्रुअरीसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ । सत्ता कब्जापछि निरंकुश शासन चलाउँदै आएका वरिष्ठ जनरल मिन आङ ह्लाइङले निर्वाचनपछि राष्ट्रपति पद सम्हाल्ने व्यापक अनुमान गरिएको छ।
सैनिक सरकारले निर्वाचनलाई ‘चुनावी लोकतन्त्रतर्फ फर्कने प्रक्रिया’ का रूपमा चित्रण गरे पनि प्रमुख विपक्षी दलहरूलाई प्रतिबन्ध लगाइएको र मतदातालाई डर-धम्की दिइएको आरोपले यसको वैधानिकता कमजोर बनाएको हाे । राष्ट्रिय तथा क्षेत्रीय विधानसभाका लागि ५७ दलबाट ४ हजार ८ सय भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन् । तर देशव्यापी रूपमा प्रभाव जमाउने सम्भावना भएका दलहरू सीमित छन् ।
सेनाको समर्थन प्राप्त युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी सबैभन्दा सङ्गठित र बलियो प्रतिस्पर्धी मानिएको हाे । आलोचकहरूले यो निर्वाचनलाई सैन्य शासनलाई वैधानिकता दिन गरिएको ‘ढोङ’ भनेका छन् । फेब्रुअरी २०२१ मा निर्वाचित प्रधानमन्त्री आङ सान सुकीको सरकार अपदस्थ गरेपछि शुरु भएको सैन्य शासनलाई नागरिक शासनको आवरण दिन निर्वाचन डिजाइन गरिएको उनीहरूको आरोप छ।





प्रतिक्रिया दिनुहोस्