Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


रवि–बालेन एउटै दलबाट चुनाव लड्ने सहमति, रास्वपामा ७ बुँदे सम्झौता


1.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् ।

आइतबार ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्दै उनीहरूले रास्वपाकै नाम, झण्डा र चुनाव चिन्ह यथावत् राख्ने निर्णय गरेका हुन् ।

सम्झौताअनुसार रास्वपाको केन्द्रीय नेतृत्व रवि लामिछानेले गर्नेछन् भने आगामी निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि बढाइनेछ । बालेन शाह पार्टी राजनीतिमा सक्रिय हुने र आवश्यक परे मेयर पदबाट राजीनामा दिने संकेत गरिएको छ ।

सम्झौतामा भ्रष्टाचार र कुशासनविरुद्धको जनआन्दोलनको अपनत्व, नीतिगत तथा संरचनागत सुधार, र नेपाललाई १० वर्षभित्र मध्यम आय भएको मुलुक बनाउने लक्ष्य उल्लेख छ । समानुपातिक उम्मेदवारहरू रास्वपामार्फतै प्रतिस्पर्धा गर्ने र निर्वाचन आयोगमा पार्टीका कागजात छिट्टै अद्यावधिक गर्ने जनाइएको छ ।

यद्यपि, अन्य वैकल्पिक शक्तिहरूसँगको एकता र उम्मेदवार व्यवस्थापनबारे विस्तृत व्यवस्था सम्झौतामा उल्लेख गरिएको छैन ।