Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


प्रमुख तीन दलका शीर्ष नेतालाई चुनावी निम्तो दिँदै प्रधानमन्त्रीले भनिन्- यो निर्वाचन जसरी पनि सफल पारौँ


741
Shares

काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन आग्रह गरेकी छन्।

शनिबार बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्दै उनले निर्वाचन सफल पार्न आह्वान गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले राष्ट्रपति बाट चुनाव गराउने जिम्मेवारी पाएपछि सरकार पूर्ण रूपमा निर्वाचन तयारीमा लागेको बताइन्। आफू रक्षाबाहेकका सबै मन्त्रालय अन्य मन्त्रीलाई सुम्पेर निर्वाचनमै केन्द्रित भएको जानकारी पनि गराइन्।

उनले निर्वाचन आयोग र सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराइएको र सुरक्षाकर्मीको मनोबल उच्च रहेको बताउँदै, सबै दलको सहभागितामा निष्पक्ष र सफल निर्वाचन गराउनु साझा जिम्मेवारी भएको उल्लेख गरिन्।

बालुवाटार बैठकमा तीन दलका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्रीत्रयलाई प्रधानमन्त्री सुशीला कार्कीको आग्रह–
मेरो निमन्त्रणलाई स्वीकार गरी यहाँहरू आइदिनुभयो, धेरै धन्यवाद र स्वागत छ।
यो घर तपाईँहरूकै हो। म त न्याय क्षेत्रको मान्छे। राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौँ।
प्रशासनिक काम–कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक मसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाइसकेको छु।
मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौँ। सबै यसमा सहभागी हुनुपर्छ। तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु। त्यस्तो वातावरण बनिरहेको देख्छु। यो स्वागतयोग्य छ। ।
हामीले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराएका छौँ। भनेजति नै स्रोतसाधनको व्यवस्था गरेका छौँ।
सुरक्षाकर्मीको मनोबल बढेको कुरा त यहाँहरुले पनि महसुस गर्नुभएकै होला। हामी त्यसरी काम गरिरहेका छौँ।
अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौँ। यो हामी सबैको जिम्मेवारी हो। यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई आज निम्ता गरेकी हुँ।