Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


रास्वपा–बालेन वार्ता अनिश्चित, पावर सेयरिङमै अड्कियो सहमति


20.3k
Shares

काठमाडौँ । रास्वपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको समूहबीच शनिबार हुने भनिएको निर्णायक वार्ता अनिश्चित बनेको छ।

शुक्रबार अबेरसम्म भएको छलफलमा बालेन पक्षले ५०–५० प्रतिशत पावर सेयरिङको प्रस्ताव राखेपछि सहमति जुट्न सकेन।

सभापति रवि लामिछानेलाई बनाउने र भावी प्रधानमन्त्रीमा बालेनलाई प्रस्ताव गर्ने विषयमा मोटामोटी सहमति भए पनि केन्द्रीय समिति र प्रतिनिधिसभा उम्मेदवारी छनोटमा आधा–आधा हिस्सा मागिएपछि वार्ता अड्किएको स्रोतको दाबी छ।

सहमति नजुटेपछि बालेनले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग छलफल गरेका छन्। शनिबार बिहान पनि बालेन–कुलमानबीच भेट भए तापनि ठोस प्रस्ताव बाहिर आएको छैन। रास्वपा पक्षले आज कुनै औपचारिक छलफल नभएको जनाउँदै, बालेन पक्षबाट खबर आएमा मात्र बस्ने बताएको छ।

यसैबीच बालेन समूहले कुलमानको प्रतीक्षामा रहेको र रेशम चौधरी तथा सिके राउतलाई समेत समेट्नुपर्ने प्रस्ताव अघि सारेको छ। लगातार छलफल भए पनि अहिलेसम्म निष्कर्ष निस्किएको छैन।