काठमाडौं ।
तीन मुख्य राजनीतिक दलका शीर्ष नेताहरु प्रधानमन्त्री सुशीला कार्कीबीच आज बैठक बस्दैछ ।
सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनको वातावरण निर्माणका लागि प्रधानमन्त्री र शीर्ष नेताबीच छलफल हुन लागेको हो ।
प्रधानमन्त्री कार्कीको आव्हानमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू संयुक्त छलफलमा रहनेछन् । तीन दलका शीर्ष नेताहरूको समय लिनको लागि नै हिजो आज सञ्चारमन्त्री जगदीश खरेलले शीर्ष नेतृत्वसँग भेट गर्नुभएको थियो ।
भेटमा कुनै पनि नेताले चुनावमा भाग नलिने नभनेको र कांग्रेस सभापति देउवाले त कांग्रेसको प्राथमिकता पुनस्थपाना नभएर चुनाव नै हो भनेको सञ्चारमन्त्री खरेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कार्कीले चुनावको वातावरण बनाउनको लागि निरन्तर दलसँग संवाद गर्दै आउनुभएको छ । जेनजी आन्दोलनपछि पहिलोपटक बुधवार राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाईमा तीन दलका शीर्ष नेताहरूसँग प्रधानमन्त्रीको छलफल भएको थियो । त्यही बैठकमा अर्को शीर्ष बैठक बालुवाटारमा बस्ने सहमति बनेअनुरुप आज छलफल हुन लागेको हो ।





प्रतिक्रिया दिनुहोस्