Logo १२ पुस २०८२, शनिबार | Sat Dec 27 2025


सिरियाको होम्सस्थित मस्जिदमा विस्फोट, कम्तीमा ८ जनाको मृत्यु


156
Shares

काठमाडौं ।

सिरियाको होम्स सहरस्थित एक मस्जिदमा शुक्रबार नमाजका क्रममा भएको शक्तिशाली विस्फोटमा कम्तीमा आठ जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार ‘सराया अंसार अल–सुन्ना’ नामक समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ। यही समूहले यसअघि जुन महिनामा राजधानी दमास्कसको एक चर्चमा भएको विस्फोटको जिम्मेवारी पनि लिएको थियो।

सिरियाली सरकारी समाचार एजेन्सी सानाले सुरक्षा स्रोतलाई उद्धृत गर्दै प्रारम्भिक अनुसन्धानबाट मस्जिदभित्रै विस्फोटक पदार्थ राखिएको संकेत फेला परेको जनाएको छ। विस्फोट भएको इमाम अली इब्न अबी तालिब मस्जिदमा ठूलो क्षति पुगेको तस्बिर सार्वजनिक गरिएको छ।

गृह मन्त्रालयका अनुसार घटनापछि मस्जिद आसपासको क्षेत्रलाई सुरक्षा घेरामा राखिएको छ र दोषीको खोजी तीव्र पारिएको छ। विस्फोट भएको क्षेत्र मुख्यतया अलावी समुदायको बसोबास क्षेत्र मानिन्छ, जुन इस्लामको एक अल्पसंख्यक रहस्यवादी सम्प्रदाय हो। पूर्वराष्ट्रपति बसर अल–असद पनि यही समुदायका थिए।

हालैका हप्ताहरूमा सिरियाका विभिन्न भागमा सुरक्षा अवस्था कमजोर बन्दै गएको छ। लामो समयदेखि जारी राजनीतिक र साम्प्रदायिक तनावले देश पुनः अस्थिर बन्दै गएको विश्लेषकहरूको भनाइ छ। बसर अल–असद सत्ताच्युत भएपछि देशभर विभिन्न सशस्त्र समूहहरूबीच हिंसात्मक गतिविधि बढ्दै गएको देखिएको छ।