Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


आगामी निर्वाचन नयाँ शक्ति उदयको प्रस्थानबिन्दु हुनुपर्छः उर्जामन्त्री घिसिङ

निर्वाचनबाट फेरि पुरानै शक्तिको उदय भएमा ठूलो दुर्भाग्य हुने दावी

299
Shares

काठमाडाैं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गतेको निर्वाचनलाई नयाँशक्ति उदयको प्रस्थानबिन्दु बनाउनुपर्ने बताउनुभएको छ।

काठमाडाैंमा बिहीबार उज्यालो नेपाल पार्टीको कार्यलय उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । निर्वाचनलाई निर्वाचनको रुपमा मात्रै लिन नहुने उहाँले बताउनुभयो । जेनजी आन्दोलनबाट स्थापित भएको सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने उल्लेख गर्दै उहाँले देशमा निर्वाचनको माहोल बनिरहेको पनि दावी गर्नुभयो । उहाँले नयाँ सबै शक्तिहरु एकजुट भएर नेपालको समृद्धि, सुशासन, देशभित्रै रोजगारी सिर्जना र सामाजिक न्यायको स्थापनाको लागि अगाडि बढ्नुपर्ने बताउनुभएकाे छ।

जेनजी आन्दोलनको स्प्रिड पनि यहि रहेको उर्जामन्त्री घिसिङको भनाइ छ । उहाँले निर्वाचनबाट फेरि पुरानै शक्तिहरुको उदय भएमा ठूलो दुभाग्र्य हुने बताउनुभयो । उहाँले नयाँ राजनीतिक दल, समूह र व्यक्तिहरु एकतावद्ध भएर लाग्नुपर्ने आजको आवश्यकता रहेकाे बताउनुभएकाे छ। सम्पूर्ण नेपालीहरुको चाहनाअनुसार नयाँ शक्तिहरु एक ठाउँमा आउने गरी प्रयासहरु भइरहेको उहाँले जानकारी दिनुभयो।

उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहनुभएका उर्जामन्त्री घिसिङले स्थापनाको छोटो समयमा नै पार्टीले देशैभरी तरङ्ग ल्याएको पनि दावी गर्नुभएकाे छ। उहाँले नयाँशक्तिलाई एकजुट गराउने नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीको कार्यलयसँगै देशको समृद्धि, सुशासन र सामाजिक न्यायको अगाडीको बाटो पनि उद्घाटन भएको दावी गर्नुभएकाे छ।

भ्रष्टाचारमुक्त, सुशासित, समृद्ध र आत्मनिर्भर अर्थतन्त्र भएको देश निर्माण गर्न तथा रोजगारी र सामाजिक न्यायको पक्षमा यो पार्टी लाग्ने उर्जामन्त्री घिसिङले उल्लेख गर्नुभयो ।