काठमाडाैं। नेपाली कांग्रेसले तोकिएको समयमै पार्टीकाे १५औं महाधिवेशन हुन नसक्ने स्पष्ट पारेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तोकिएको समयमा महाधिवेशन गर्ने आधार नरहेको निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशनको सन्दर्भमा सबै भन्दा ठूलो चुनौती सक्रिय सदस्यता टुंग्याउनु रहेको बताउनुभयाे। सक्रिय सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री गगनकुमार थापा नै रहेको समेत उहाँकाे भनाइ छ।
जिल्ला जिल्लामा गरिएको परिपत्र क्रमसंख्या नभएको सक्रिय सदस्यता फारम गएकाले फेरि पठाउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । कतिपय जिल्लामा समयमै फारम भरेर बुझाउन नसकेको, भरेर मात्रै नहुने अवस्था रहेकाले त्यसमा इन्ट्री गर्नुपर्ने र त्यो सहज नरहेको उहाँकाे भनाइ छ। विधिसम्मत तरिकाले काम गर्नुपर्ने भएकाले क्रियाशिल सदस्यता टुंगिने कुरा जिल्लाका कार्यकर्ताले सकेको प्रयास गर्दा पनि सफल हुन नसकेको उहाँले बताउनुभयो । त्यसले पनि तोकिएको समयमा अधिवेशन गर्न सबैको तदारुकता र क्रियाशीलता हुँदा-हुँदै पनि सम्भव नरहेको प्रवक्ता महतले बताउनुभएकाे छ।
प्रवक्ता महतले पार्टीका जिम्मेवार पदाधिकारीहरुले गहन र गम्भीर भएर आफ्ना धारणा राख्नुपर्ने बताउनुभयो ।






प्रतिक्रिया दिनुहोस्