काठमाडाैं। नेपालले थाइल्याण्डसँग खेल्दै आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको यात्रा शुरु गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले यसै महिनाको अन्तिममा शुरु छनोटको समूह विभाजन र खेल तालिका मंगलबार सार्वजनिक गरेको हो । नेपाल, थाइल्याण्ड रहेको समूह ‘बी’ मा जिम्बावे, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन् । समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका रहेका छन् । १० राष्ट्रको सहभागितामा नेपालले आगामी जनवरी १४ देखि फेब्रुअरी १ तारिखसम्म छनोट सन्चालन गर्ने भएकाे हाे।
प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र मूलपानीको माथिल्लो र तल्लो मैदानमा हुने भएका छन् । दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्ने छन् । नेपालले यहि पुस ३० गते आयरल्यान्डसँग तल्लो मूलपानी र माघ २ गते अमेरिकासँग कीर्तिपुरमा अभ्यास खेल खेल्ने भएकाे छ । त्यसपछि ग्लोबल छनोटमा नेपालले माघ ४ गते थाइल्यान्ड, माघ ८ गते नेदरल्यान्ड्स, माघ १० गते जिम्बावे र समूह चरणको अन्तिम खेल माघ १२ गते स्कटल्यान्डसँग खेल्ने भएकाे छ ।
नेपालले महिला टी-२० विश्वकप छनोट पहिलो पटक आयोजना गर्न लागेको हो । छनोटका शीर्ष ४ टोलीले अर्को वर्ष आईसीसी महिला टी-२० विश्वकप खेल्ने भएका छन् ।





प्रतिक्रिया दिनुहोस्